एसईईको पूरक परीक्षा आजदेखि सुरु

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईईको ग्रेडवृद्धि परीक्षा बुधबार देखि सुरु हुँदैछ । यो वर्ष एसईईमा उत्तीर्ण हुन नसकेकालाई राष्ट्रिय परीक्षा बोर्डले ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्न लागेको हो । 

पहिलो दिन बुधबार अनिवार्य अंग्रेजी, वेदविद्याश्रमतर्फ  अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषाको परीक्षा हुनेछ । परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ । पूरक परीक्षा साउन २३ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुनेछ ।

परीक्षा बोर्डका अनुसार परीक्षामा २ लाख १० हजार सहभागी हुँदैछन् । १ महिना अघि प्रकाशित माध्यमिक शिक्षा परीक्षा एसइई को नतिजामा ४८ प्रतिशत परीक्षार्थी मात्रै उत्तीर्ण भएका थिए । नियमित परीक्षाको नतिजामा ननग्रेड (एनजी) आएका र त्यतिखेर अनुपस्थित भएका विद्यार्थीले पूरक परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । परीक्षामा अनुत्तीर्णको संख्या २ लाख ४२ हजार भए पनि २ लाख १० हजार मात्रै सहभागी हुन लागेको बोर्डले जनाएको छ । 

यसका लागि मुलुकभर ५ सय ५० केन्द्र निर्धारण गरिएको छ । यसअघि अधिकतम २ विषयमा मात्रै एनजी आएका परीक्षार्थीलाई मात्रै यस्तो परीक्षामा बस्न दिने व्यवस्था भएकोमा अनुत्तीर्ण सबैका लागि मौका परीक्षाकोव्यवस्था गरिएको छ ।

प्रतिक्रिया