नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसले बंगलादेशको अन्तरिम सरकारको नेतृत्व गर्ने

एजेन्सी । नोबेल शान्ति पुरस्कार  विजेता मुहम्मद युनुस  बंगलादेशको अन्तरिम सरकारको प्रमुख सल्लाहकार हुने राष्ट्रपतिको कार्यालयले घोषणा गरेको छ । रास्ट्रपति कार्यालय बंगभवनले मंगलबार राति प्रेस विज्ञप्ति जारी गर्दै युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन हुने जनाएको हो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार शेख हसिनाले राजीनामा दिएर देश छाडेको भोलिपल्ट राष्ट्रपति मुहम्मद शहाबुद्दीनले अन्तरिम सरकार गठनका लागि मंगलबार संसद् भंग गरेका थिए । विद्यार्थी नेताहरूले संसद् भंग गर्न राष्ट्रपतिलाई मंगलबार दिउँसो ३ बजेसम्मको समयसीमासमेत तोकिदिएका थिए । राष्ट्रपति शहाबुद्दीनले तीनै सुरक्षा निकाय प्रमुख, विभिन्न राजनीतिक दलका नेता, नागरिक समाजका प्रतिनिधि र आरक्षणविरोधी आन्दोलनका अगुवा विद्यार्थीसँग भएको बैठकको निर्णयका आधारमा राष्ट्रिय संसद् विघटन गरेका थिए । राष्ट्रपति  शाहबुद्दीन, सैन्य नेताहरू र भेदभाव विरुद्ध विद्यार्थी समूहका प्रमुखहरू बीचको बैठकमा यो निर्णय गरिएको हो।

मुहम्द गरिबीविरुद्ध लडेका कारण विश्वप्रसिद्ध नोबेल शान्ति पुरस्कारबाट सम्मानित भएका थिए । ‘गरिबहरुको बैंक’बाट चिनिएका युनुसलाई आन्दोलनकर्ता विद्यार्थीहरुले अन्तरिम सरकारको प्रमुखको रुपमा प्रस्ताव गरेका थिए ।

उक्त  भूमिका निभाउन राजी भएका युनुसले भने ‘यति धेरै त्याग गर्ने विद्यार्थीहरूले मलाई यो कठिन घडीमा पाइला चाल्न अनुरोध गरिरहेका छन्, म कसरी इन्कार गर्न सक्छु ?’ ८४ वर्षीय युनुस हाल उपचारका लागि फ्रान्समा छन् । उनले अब स्वदेश फर्किने बताएका छन् ।

प्रतिक्रिया