जग्गा बचाइदिन न्यायको अपिल गर्दै उप्रेती परिवार
झापा । बिर्तामोड–४ का हरिप्रसाद उप्रेतीका परिवारले झापाको हल्दीबारी-३ मा हुलाकी राजमार्गसँग जोडिएको जग्गा किचलो मुद्दामा नापी कार्यालय झापाले दुईथरि प्रतिवेदन तयार पारेर अन्याय गरेको भन्दै न्यायको माग गरेका छन् ।
उप्रेती परिवारले १४ कठ्ठा जग्गा सबै बाटोमा परेको भन्दै जग्गा ‘हडप्ने’ प्रपञ्च भइरहेको जनाएको छ । जग्गा आसपासका केही संधियारको कुदृष्टिका कारण आफ्नो १४ कठ्ठा जग्गाको नामोनिसान नरहेको सावित गर्न खोजिएको उप्रेती परिवारको भनाइ छ ।
१० वर्ष अघि चित्रबहादुर गुरुङसँग श्रीमती टीकादेवी उप्रेतीको नाममा किनेको कित्ता नं. ६०९ को १४ कठ्ठा जग्गा संधियारले तपाईंको जग्गा यहाँ छैन, सबै बाटोमा गयो भनेपछि सहमतिको लागि आफू कानूनी बाटोमा लागेको हरिप्रसाद उप्रेतीले बताउछन् । अदालतको आदेशमा जग्गाको नापचाँज गर्न पठाएको नापी कार्यालयका कर्मचारीले जग्गा रहेको नक्सासहितको प्रतिवेदन तयार गरेको उनको भनाई छ । आफूलाई थाहा नै नदिई सबै जग्गा हुलाकी मार्गमा परेको भन्दै नापी कार्यालयका अघिल्लो प्रतिवेदन बनाउने कर्मचारीहरुले नै पुनः अर्को प्रतिवेदन बनाएर अदालतमा पुर्याएर जालसाझी गरको उनको दावी छ ।
गत जेठ २८ गते अदालतको फैसलाले आफू अन्यायमा परेको जग्गाधनी टिकादेवीका छोरा युवराज उप्रेती बताउँछन् । अदालतको पूर्ण पाठ आउन बाँकी नै रहेकाले न्याय पाउने आस जिवितै रहेको उनको भनाइ छ ।
पिडित युवराज उप्रेती
“एउटै कर्मचारीले भिन्दा भिन्दै प्रतिवेदन बनाएर दिएका रहेछन्”, उनले बताए, “हामीलाई थाहा भएन, अदालतको फैसलापछि खोजी गर्दा अकैं नक्सासहितको प्रतिवेदन हालिएको रहेछ, दुवै प्रतिवेदनमा एउटै कर्मचारीको दस्तखत छ ।” आफूहरु अन्यायमा परेको भन्दै जग्गाधनी उप्रेती परिवारले बिर्तामोडमा पत्रकार सम्मेलन गरेर न्यायका लागि अपिल समेत गरेका छन् ।
उप्रेतीका जग्गाका सधियार भने उप्रेतीले दाबी गरे जस्तो उनीहरूको कुनै जग्गा नभएको बताउँछन् । उनीहरूले उप्रेतीको सबै १४ कट्टा जग्गा हुलाकी राजमार्गमा परेको दाबी गरिरहेका छन् ।
नरेन्द्र कुमार गुरुङ र हरिप्रसाद उप्रेतीले जारी गरेको प्रेस विज्ञप्ति
पहिलेको नाप नक्सालाई आधार मान्ने हो भने पनि एउटै व्यक्तिको १४ कठ्ठा जग्गा कसरी राजमार्गमा पर्छ रु प्रश्न अनुत्तरित छ । नापीको प्रतिवेदनका आधारमा आफ्नो १४ कठ्ठा जग्गा हुलाकी राजमार्गमा पर्ने अदालतको फैसलाले आफूहरू थप अन्यायमा परेको टीकादेवीका छोरा युवराजले बताए ।
२०७८ चैत २६ गते छर्लङ्ग देखिएको तथ्यगत प्रमाण मुचुल्का एवम् नक्सा कुण्डली विपरीत हुने गरी नापी कार्यालय झापाले साविक कित्ता नम्बर ६०९ को जग्गामा हुलाकी राजमार्ग पर्छ भन्ने झुटा व्यहोराको प्रतिवेदन दिएको उप्रेती र गुरुङले प्रेस विज्ञप्ति जारी गरी जनाएका छन् ।
नापी कार्यालयले आर्थिक चलखेलका आधारमा बदनियतपूर्वक अर्को प्रतिवेदन बनाएको पीडित पक्षको आरोप छ । नापी कार्यालयको पछिल्लो प्रतिवेदनले राजमार्गको रेखाङ्कन फेरिने मात्र होइन, स्थानीयका केही जग्गासमेत राजमार्गमा पर्ने देखिएको छ ।
यस बिषयमा स्थानीयहरु आफ्नो जग्गाको मालपोत कर तिरिरहेको र आफूहरुको जग्गामा बाटोमा सरेको जानकारी नभएको बताउँछन् । नापी कार्यालयका कर्मचारीले आफुखुसी नापजाँच गरेर त्यसको आधारमा अदालतले फैसला गरेको स्थानीयहरुको गुनासो छ ।
प्रतिक्रिया