२३ गतेसम्म ३४ जिल्ला बाढीपहिरोको उच्च जोखिममा, रात्रि बस नचलाउन आग्रह

खोज तथा उद्धारको लागि सुरक्षा निकायलाई तयारी अवस्थामा रहन अनुरोध

काठमाडौ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीपहिरोको उच्च जोखिम रहेको ३४ जिल्लामा  सतर्कता अपनाउन अनुरोध गरेको छ ।  प्राधिकरणले मंगलबार  र बुधबार भारी वर्षा र अति भारी वर्षाले पाँच वटा प्रदेशका ३४ जिल्ला उच्च जोखिममा रहने प्रक्षेपण गर्दै साउन २३ गतेसम्म ती जिल्लामा आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो । 

कोसी प्रदेशका ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, त्यस्तै  वाग्मती प्रदेशका रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, दोलखा, त्यसैगरी गण्डकी प्रदेशको म्याग्दी, बाग्लुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व, लमजुङ, गोरखा, लुम्बिनी प्रदेशको कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, दाङ, बाँके, बर्दिया, प्युठान, अर्घाखाँची र रुकुम पश्चिम सहित  सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी र बैतडी उच्च जोखिममा रहेको प्राधिकरणले जनाएको छ ।
“ 
प्राधिकरणले उच्च जोखिम रहेका जिल्लामा रातको समयमा यात्रा गर्दा आउन सक्ने बाढीपहिरोको आकलन गर्न कठिन हुने भएकोले सम्भावित क्षति रोक्न रात्रिकालीन बस नचलाउन अनुरोध गरेको छ । प्राधिकरणले उच्च जोखिममा रहेका जिल्लामा दाउरा निकाल्न तथा माछा मार्न नदी किनारमा नजान अनुरोध गरेको छ ।

भारी वर्षा र अति भारी वर्षा हुन सक्ने जिल्लामा विपद्को जोखिममा रहेका मानिसहरूलाई जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिले समन्वय गरी तत्काल सुरक्षित आश्रयस्थलमा सार्न पनि प्राधिकरणले भनेको छ ।  भारी वर्षा हुने प्रक्षेपण गरिएका जिल्लाहरूमा जुनसुकै बेला विपद् आउन सक्ने हुनाले खोज तथा उद्धारको लागि ती जिल्लाहरूका तीनवटै सुरक्षा निकायलाई तयारी अवस्थामा रहन पनि अनुरोध गरिएको छ । 


 

प्रतिक्रिया