भाग्यले बाँचेकी हसिना कसरी उदाइन र कसरी भइन पतन ?

काठमाडौं । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले हप्तौंदेखि जारी हिंसात्मक विद्यार्थी आन्दोलनले देशव्यापी अशान्ती भएपछि हिजो सोमबार पदबाट राजीनामा दिइन् र भारतमा शरण लिन पुगिन् । 

७६ वर्षीया हसिना बंगलादेशमा सबैभन्दा लामो समयसम्म सत्तामा रहने ब्यक्तिमा पर्छिन् । तर अब उनी देशै छोडेर हिडेपछि संभवत उनको शासन सत्तामा फर्किने बाटो अब सधैका लागि अन्त्य भएको राजनीतिक विश्लेषकहरुको भनाई छ । पाकिस्तानबाट बंगलादेश स्वतन्त्र हुने बेला त्यो आन्दोलनमा सहभागी व्यक्तिका छोराछोरी, नातीनातिना र परिवारलाई सरकारी नोकरीमा कोटा र आरक्षण दिने व्यवस्थाको विरोधमा बिद्यार्थीहरुले गत जुलाइदेखि आन्दोलन चर्काएका थिए । अन्ततः त्यो आन्दोलनले हसिनालाई प्रधानमन्त्री पदमात्रै होइन देशै छोड्न बाध्य बनायो । हसिनाको परिवार बंगलादेश स्वतन्त्रको आन्दोलनमा लागेकाले उनी र उनको पार्टी समर्थकले मात्रै सो कोटामा रजाइँ गरिरहेको बिपक्षी दल र त्यससँग सम्बन्धित बिद्यार्थीहरुको ठहर छ । 
हसिनाको राजनीतिमा उदय र पतन ?

सन १९४७ मा पूर्वी बंगालको  एक मुसलमान परिवारमा जन्मिएकी हसिनाले राजनीति भने बिरासतमा पाएकी हुन् । हसिनाले बंगलादेशमा करीब २० वर्षसम्म बलियो पकडका साथ शासन गरिन् । उनी राजनीतिमा आउने बाटो भने उनका पिता शेख मुजिबुर रहमान थिए। रहमान बंगलादेशका संस्थापक नेता थिए । उनलाई आज पनि बंगलादेशीहरु राष्ट्रपिता भन्ने गर्छन् । रहमान जसले सन् १९७१मा बंगलादेशलाई पाकिस्तानबाट स्वतन्त्र गराए र देशको पहिलो राष्ट्रपति बने ।  त्यतिबेला  हसिना बिद्यार्थी राजनीतिमा लागिसकेकी थिइन् । उनले त्यसबखत ढाका विश्वविद्यालयमा विद्यार्थी नेताका रूपमा आफूलाई स्थापित गर्दै थिइन् । सन् १९७५ मा बंगलादेशमा सैनिक विद्रोह भयो । त्यसक्रममा बंगलादेशको संस्थापक रहेका शेख रहमान र उनको परिवारका अधिकांश सदस्य मारिए ।हसिना र उनकी कान्छी बहिनी  भने विदेश भ्रमणमा रहेका कारण भाग्यले बाँचेका थिए । बंश बिनास हुँदा भाग्यले बाँचेकी हसिना त्यसपछि बंगलादेशको राजनीतिमा अघि बढ्दै रहिन् । जसलाई उनका पिताको बिरासत जोगाउनु पर्ने थियो । 

दक्षिण एसियाली देश बंगलादेशको आर्थिक प्रगतिको श्रेय शेख हसिनालाई दिइन्छ । तर पछिल्ला वर्षहरूमा उनीमाथि तानाशाहीको आरोप पनि लगाइएको छ । आफू र बहिनी बाहेक आफ्ना पिता सहित परिवारका अन्य सबै सदस्य मारिएपछि उनी सन् १९७५ पछि भारतमा निर्वासित जीवन बिताउन थालिन् । हसिना सन् १९८१ मा भारतबाट बंगलादेश फर्किइन् र आफ्नो बुबाको राजनीतिक दल अवामी लिगको नेता भइन्।उनले अन्य राजनीतिक दलहरूसँग मिलेर तत्कालीन सैनिक शासक जनरल हुसेन मोहम्मद यर्शादको सैन्य शासनविरुद्ध सडकमा प्रदर्शन गर्दै लोकतन्त्रको पक्षमा आफूलाई खडा गरिन् । सो आन्दोलनले हसिनालाई चाँडै राष्ट्रिय प्रतिभा र नेता  बनायो । उनले बंगलादेशको राजनीतिमा थुप्रै सुख दुःख भोगिन् । उनी पहिलो पटक सन् १९९६ मा बंगलादेशको संसदमा निर्वाचित भएर सत्तामा आएकी थिइन् । पछि, उनी सन् २००१ को चुनावमा भने उनकी  राजनीतिक प्रतिद्वन्द्वी, बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) की बेगम खालिदा जियासँग पराजित भइन् ।

राजनीतिक परिवारका उत्तराधिकारी यी दुई महिला हसिना र जियाले  तीन दशकसम्म बंगलादेशको राजनीतिमा प्रभुत्व जमाए। तर यी दुई महिलाको सम्बन्ध भने कहिल्यै पनि सौहार्द रहेन ।  हसिनालाई ‘ब्याटलिंग बेगम’ पनि भनिन्छ । बेगम उच्च परिवारका मुस्लिम महिला हुन्। हसिना र जियाकोे तिक्त राजनीतिक प्रतिस्पर्धाका कारण बंगलादेशमा बस बम विष्फोट, अपहरण र गैरन्यायिक हत्याका घटना सामान्य बन्दै गएको विश्लेषकहरूको टिप्पणी छ । आरक्षण र कोटा बिरुद्धको  बिद्यार्थी आन्दोलन पनि जिया समर्थित बिद्यार्थीहरुले चर्काएका हुन् । 

राजनीतिमा कहिले जित र कहिले हार ब्यहोर्दै आएकी हसिना सन् २००९  फेरि सत्तामा आइन् र प्रधानमन्त्री बनिन् । त्यसपछि भने निरन्तर सत्तामा रहिरहिन् । त्यसकारण उनी बंगलादेशमा सबैभन्दा बढी सत्तामा रहनेमा पर्छिन्। हसिनालाई बंगलादेशको सच्चा राजनीतिक नेताका रुपमा पनि लिने गर्छन् । उनी धेरै पटक जेलमा परेकी थिइन् र उनको जीवनमा धेरै आक्रमणबाट बच्न सफल भइन्। सन् २००४ मा भएको आक्रमणका कारण उनको श्रवणशक्तिमा क्षति पुगेको थियो । उनलाई त्यतिबेला पनि देश निकाला गर्ने प्रयास भएको थियो । 

हसिनामाथि भारतसँग जलश्रोत संझौता गरेको  बंगलादेशको दक्षिणपूर्वी क्षेत्रमा रहेका विद्रोहीसमूहसँग सन्धि गरेर शान्ती स्थापना गरेको  श्रेय पनि दिइने गरेको छ । त्यस्तै मुस्लिम बहुल बंगलादेश, एक समय विश्वको सबैभन्दा गरीब देश रहेकोमा हसिनाकै  नेतृत्वमा आर्थिक प्रगति हासिल गरेको बिश्लेषण छ । बंगलादेश अहिले दक्षिण एशियाली  क्षेत्रको सबभन्दा द्रुत बृद्धि हुने अर्थतन्त्र मध्येको एक देश  हो ।  आर्थिक प्रगतिको मामिलामा आफ्नो छिमेकी भारतलाई उसले पछि पार्दै गएको जस पनि हसिनालाई दिइने गरेको छ । तर, उनीमाथि धेरै सम्झौतामा भ्रष्टाचार र भारतको प्रभावमा रहेको आरोप पनि लाग्ने गरेको थियो ।

भाग्यले बाँचेर पारिवारिक विरासतको राजनीतिबाट उदाएकी हसिनाको पतन सत्तामै रहेका बखत भएको छ । आफूले पनि विद्यार्थी जीवनबाट राजनीति थालेकी हसिना बिद्यार्थीकै कारण देश छोड्न बाध्य भइन् । उनले देश छोडेसँगै बंगलादेशमा नयाँ सरकार गठनको प्रक्रिया शुरु भएको छ । त्यहाँको सेनाले नयाँ सरकार गठनका लागि छलफल गरिरहेको छ । बिद्यार्थी नेताहरुले सैन्य सरकार मान्य नहुने बताएपछि त्यहाँ बिकल्पको खोजी भएको छ । बंगलादेशका राष्ट्रपतिले संसद भंग गरेका छन् । अब अन्तरीम सरकार बन्नेछ । 

प्रतिक्रिया