डेङ्गु सङ्क्रमणका कारण एकजनाको मृत्यु
काठमाडौ । तनहुँमा डेङ्गु सङ्क्रमणका कारण एकजनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अन्दाजी ५० वर्षीय एकजना पुरुषको सोमवार मृत्यु भएको हो । सन् २०२४ को यो पहिलो डेङ्गु सङ्क्रमणका कारण मृत्यु भएको यो पहिलो घटना हो । नेपालमा हालसम्म २ हजार ३ सय ६५ जनामा सङ्क्रमण देखिएको छ । तनहुँ गत वर्षदेखि नै डेङ्गीका कारण धेरै प्रभावित हुने जिल्लामा परेको छ । हालसम्म ७३ जिल्लामा डेङ्गी सङ्क्रमण फैलिएको छ । मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगुको सङ्क्रमण फैलिएको हो । सबै भन्दा बढी सङ्क्रमित सङ्ख्या २ सय ८७ जना काठमाडौँ जिल्लाका छन् । काठमाडौँ उपत्यकाका तीन सय ६० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । भक्तपुर ४२ जनामा र ललितपुरका ३१ जनामा डेंगु पुष्टि भएको छ । डेंगु सङ्क्रमण अझै बढ्ने भएकाले सतर्कता अपनाउन विज्ञहरूले सुझाएका छन् । यस वर्षको मनसुनमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरिएको हुँदा मनसुनसँगै लामखुट्टेको प्रजननका लागि अनुकूल अवस्था बन्न सक्ने र डेंगु रोगको सङ्क्रमण थप बढ्न सक्ने आंकलन गरिएको हो ।
प्रतिक्रिया