नोबेल पुरस्कार विजेता युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गर्न आन्दोलनरत विद्यार्थीको माग
एजेन्सी । प्रधानमन्त्री शेख हसिनाले सोमबार पदबाट राजीनामा दिएर देश छाडेसँगै बंगलादेशमा अन्तरिम सरकार बनाउने तयारी चलिरहेको छ। सेना प्रमुख जनरल वकेर–उज–जमानले सबै दलको सहभागितामा अन्तरिम सरकार गठनको घोषणा गरेका छन् । सेनाले १८ सदस्यीय अन्तरिम सरकारको प्रस्ताव गरेको छ।
१५ वर्षसम्म सत्ता चलाएकी हसिनाले राजीनामा दिएसँगै विधार्थीको हिंसात्मक प्रदर्शनहरू रोकिएका छन्। तर आन्दोलनको नेतृत्व गरिरहेका विद्यार्थी नेताहरूले सेना नेतृत्वको सरकार नस्वीकार्ने बताएका छन्। मंगलबार फेसबुकमार्फत भिडिओ सार्वजनिक गर्दै आरक्षण विरोधी आन्दोलनका संयोजक नाहिद इस्लामले अन्तरिम सरकार बनाउँदा बंगलादेशका नोबल पुरस्कार विजेता मोहम्मद युनुसलाई सहभागी गराउन माग गरेका छन् ।
‘हामीले सिफारिस गरेकोबाहेक अन्य कुनै पनि सरकार स्वीकार्य छैन,’ विद्यार्थी आन्दोलनको नेतृत्व गरेका नहिद इस्लामले भने, ‘सेनाको समर्थन रहेको वा सेना नेतृत्वको सरकार हामी स्वीकार गर्दैनौं। हामीले मोहम्मद युनुससँग पनि कुराकानी गरेका थियौं र उनले हाम्रो अनुरोध स्वीकार्दै जिम्मेवारी लिन सहमत भएका छन्।’
नोबल पुरस्कार बिजेता मोहम्मद युनुस
८४ वर्षीय युनुस सन् २००६ मा नोबल पुरस्कार बिजेता हुन् । ग्रामीण बैंक मार्फत लाखौं जनतालाई १०० डलरभन्दा कम रकमको ऋण (लघुवित्त) उपलब्ध गराएर गरिबी रेखाबाट निकालेकोमा उनलाई पुरस्कृत गरिएको थियो। रकम हिनामिनाको आरोपमा गत जुनमा उनीविरूद्ध अदालतमा मुद्दा दर्ता भए पनि युनुसले सबै आरोप अस्वीकार गर्दै अभियोजकहरूले आफू र उनका सहकर्मीहरूलाई उत्पीडन गरिरहेको बताएका छन्। युनुसमाथि बंगलादेशको सबैभन्दा ठूलो टेलिकम कम्पनीमा २० मिलियन डलरको घोटाला गरेको आरोप छ ।
यसैबीच राष्ट्रपतिले जेलमा रहेका पूर्वप्रधानमन्त्री तथा प्रतिपक्षी नेतृ खालिदा जियालाई रिहा गर्न आदेश दिएका छन्। उनलाई सन् २०१८ मा भ्रष्टाचारको मुद्दामा १७ वर्षको जेल सजाय सुनाइएको थियो।
बंगलादेशमा दुई महिना लामो आरक्षण विरोधी विद्यार्थी आन्दोलनपछि प्रधानमन्त्री शेख हसिनाले सोमबार अगस्ट ५ मा पदबाट राजीनामा दिएकी थिइन्।
त्यसपछि उनी देश छाडेर ढाकाबाट अगरतला हुँदै भारतको गाजियाबादस्थित हिन्डन एयरबेसमा साँझ ६ बजे पुगेकी थिइन्। यहाँबाट लन्डन, फिनल्याण्ड वा अन्य देशहरूमा जान सक्ने बताइएको छ।
प्रतिक्रिया