झरीले काठमाडौंका विभिन्न नदी तथा खोलाको जलसतह बढ्यो

काठमाडौं । लगातारको झरीले काठमाडौंका विभिन्न नदी तथा खोलाको जलसतह बढेको छ । काठमाडौंस्थित विष्णुमती नदीको गोंगबु जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको छ । जलसहत बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रमा दिउँसो २ बजेसम्म उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।  

यस्तै, ललितपुरस्थित खोड्कु खोला झरुवारासी जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको छ । जलसतह बढ्दो क्रममा रहेकोले तटीय क्षेत्रमा बाढीको जोखिम औल्याइएको छ । यसैगरी बागमती, बिष्णुमती, धोबी खोला, हनुमन्ते खोलामा पनि जलसतह बढेको छ । 

मंगलबार काठमाडौं उपत्यकासहित सिन्धुपाल्चोक, पाल्पा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, नवलपरासी, रूपन्देही, कपिलवस्तु र आसपासका जिल्ला भई बहने स–साना नदीहरूमा बहाव बढ्ने महाशाखाले जनाएको छ । मकवानपुर, झापा, सप्तरी, मोरङ, सुनसरीका विभिन्न ठाउँमा ठूलो वर्षा भएकोे छ । मोरङको हरैचा, सिन्धुपाल्चोकको बाहुनेपाटी, चितवनको शक्तिखोर, उदयपुरको मुर्कुची बजार, सुनसरीको धरान, महोत्तरीको गौशाला, धनुषाको तुल्सी, ललितपुरको गोदावरी, म्याग्दीको मुनालगायतका जल मापन  केन्द्रमा पनि ठूलो वर्षाको मापन भएको छ । 

मकवानपुरको बकैया नदी जुरेलीबजार जलमापन केन्द्रको जलसतह सतर्कता तह आसपास पुगेको छ । सप्तरीको मौली खोला र खाडो खोला लगायत अन्य साना खोलामा बहाव बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया