सिमलताल घटना अध्ययन कार्यदलले आज प्रतिवेदन बुझाउँदै

काठमाडौं । चितवनको सिमलताल घटना सम्बन्धी अध्ययन कार्यदलले मंगलबार अध्ययन प्रतिवेदन बुझाउँदैछ । कार्यदलले मंगलबार दिउँसो साढे १ बजे अध्ययन प्रतिवेदन सरकारलाई बुझाउने भएको हो । गृह मन्त्रालयका सहसचिव छवि रिजाल संयोजक रहेको उक्त कार्यदलले सिमलताल भेलबाढीको र त्यसले सिर्जना गरेको विपत्तिको प्रस्तुतीकरण पनि दिने बताइएको छ । 

गत असार २८ गते चितवनको सिमलताल नजिकैको सिँदुरे गहिरामा लेदोसहितको भेलबाढीले दुईवटा यात्रुबाहक बस त्रिशूलीमा खसेर बेपत्ता भएका थिए । बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति र बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स त्रिशुलीमा खसेर बेपत्ता भएका थिए ।

बसमा ६५ जना यात्रु सवार रहेका अनुमान गरिएको थियो । उक्त घटनामा ३ जना यात्रु बाँचेका थिए । बाँकी यात्रु बेपत्ता रहेकामा हालसम्म २४ जनाको मात्र शव फेला परेको छ । नेपालको गोताखोरका अतिरिक्त भारतबाटसमेत मगाएर खोजतलास गरिको थियो । तर, अहिलेसम्म बसको अवस्था अज्ञात छ । घटना अध्ययन गर्न सरकारले गत असार ३१ गते गृह मन्त्रालयका सहसचिव रिजालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल बनाएको थियो । कार्यदलले स्थलगत अवलोकन, घटनामा बाँचेकाहरूसँग प्रत्यक्ष कुराकानी, स्थानीयहरूसँग अन्तरक्रिया गरेर प्रतिवेदन  तयार पारेको छ । 

यसअघि सडक डिभिजन भरतपुरले पनि आन्तरिक रूपमा अध्ययन प्रतिवेदन तयार पारेको थियो । सडक डिभिजनले ग्रामीण सडक खन्दा निस्किएको माटो वर्षातको पानीले बगाउँदा लेदो सहितको बाढी उत्पन्न भएको निष्कर्ष निकालेको छ । कार्यदलले पनि त्यस्तै निष्कर्ष निकालेको बताइएको छ । 

प्रतिक्रिया