मोरङ र सप्तरीमा भारी वर्षा, ३४ जिल्लामा ‘रेड अलर्ट’ जारी

काठमाडौं । मंगलबारदेखि देशका धेरै ठाउँमा ठूलो पानी पर्ने भन्दै जल तथा मौसम विज्ञान विभागले खतराको सूचना अर्थात् ’रेड अलर्ट’ जारी गरेको छ । 

विभागले मंगलबार र बुधबारका लागि ३४ वटा जिल्लामा रेड अलर्ट जारी गरेको हो । विभागले कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, संखुवासभा र तेह्रथुम, बाग्मती प्रदेशका रसुवा, चितवन, सिन्धुपाल्चोक र धादिङ तथा गण्डकी प्रदेशका म्याग्दी, बाग्लुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, पूर्वी नवलपरासी, लमजुङ र गोरखालाई खतराको सूचीमा राखेको छ । 

यस्तै, लुम्बिनी प्रदेशका कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, नवलपरासी पश्चिम, दाङ, बाँके, बर्दिया, प्यूठान र अर्घाखाँची तथा सुदूरपश्चिमका बैतडी, डोटी, डडेल्धुरा, कञ्चनपुर र कैलालीमा पनि विभागले रेड अलर्ट जारी गरेको छ । 

यसैगरी, मुस्ताङ, डोल्पा, मुगु, हुम्ला, जुम्ला, बाजुरा र बझाङबाहेकका अरू सबै जिल्लामा विभागले मध्यम जोखिम हुने भन्दै चेतावनी जारी गरेको छ । मंगलबार र बुधबार बाढी, पहिरो र डुबान हुन सक्ने भन्दै विभागले सतर्कता अपनाउन आग्रह पनि गरेको छ । रातिको समयमा धेरै पानी पर्ने भएकोले चनाखो रहन र जोखिमयुक्त ठाउँमा नबस्न विभागको आग्रह छ । 

यस्तै, राजमार्ग र हवाई यातायात पनि प्रभावित हुन सक्ने भएकाले पूर्वतयारी अपनाउन विभागले सरोकारवाला निकायहरूलाई आग्रह गरेको छ । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा सोमबार रातिदेखि ठूलो पानी परिरहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालतर्फ सर्ने क्रममा रहेकाले विभिन्न ठाउँमा ठूलो पानी परिरहेको हो । पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै सप्तरीको रुपनी बजारमा  १ सय ५९ दशमलव ४ मिलिमिटर वर्षा मापन भएको छ । 

यस्तै, मोरङको हरैचामा १ सय १२ दशमलव ८, चितवनको शक्तिखोरमा १ सय १ , सिन्धुपाल्चोकको बाहुनेपाटीमा ९८ दशमलव ४, उदयपुरको मुर्कुची बजारमा ९२ दशमलव ४, काठमाडौंको कपनमा  ९० दशमलव ४ मिलिमिटर वर्षा मापन भएको छ । 
 

प्रतिक्रिया