कर्णालीका मुख्यमन्त्री कँडेलले पाए दोस्रोपटक विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन्। सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेललाई नेपाली कांग्रेस र एमालेका सांसदहरुले विश्वासको मत दिएका हुन् ।

सोमबारको प्रदेश सभा बैठकमा उनले विश्वासको मतसम्बन्धी प्रस्ताव राखेका थिए। ४० सदस्यीय प्रदेश सभामा ३८ जना सांसदहरु सहभागी थिए । एमाले संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री कँडेलले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावका पक्षमा २३ जनाले मतदान गरेका छन् भन विपक्षमा १४ जनाले मतदान गरेका छन्।  कँडेललाई एमालेका ९, कांग्रेसका १४ जना सांसदले मत दिएका थिए । 

मत नदिनेमा प्रतिपक्षी दल माओवादीका १३ र समाजवादीको एक जना सांसद रहेका छन् । ४० सदस्यीय प्रदेश सभामा सरकार बनाउनका लागि कम्तीमा २१ सिट आवश्यक पर्छ ।

गत साउन ७ गते नेकपा (माओवादी केन्द्र) ले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कँडेलले दोस्रो पटक विश्वासको मत लिएका हुन्।
कँडेल चैत्र २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । उनले वैशाख १३ गते पहिलो पटक संसदबाट विश्वासको मत पाएका थिए ।

 

प्रतिक्रिया