कास्कीमा ६ सय ४९ नयाँ उद्योग थपिए

कास्की । जिल्लामा एक वर्षका अवधिमा ६ सय ४९ नयाँ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालय कास्कीमा दर्ता भएका उद्योगमध्ये लुघउद्योग १३ र साना ६ सय ३६ वटा छन् । नयाँ उद्योगमा रु एक अर्ब ९१ करोड ८४ लाख ५२ हजार पुँजी लगानी भएको पर्यटन तथा उद्योग कार्यालयका प्रमुख महराज ढकालले जानकारी दिए । 

ढकालका अनुसार पोखरामा बढी मात्रामा पर्यटन क्षेत्रलगायतको सेवामूलक व्यवसाय बढी भएकाले थपिएका उद्योगमा समेत सेवामूलक उद्योग सबैभन्दा बढी छन् । कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८०÷८१ सेवामूलक उद्योग दुई सय ४१, कृषि तथा वन पैदावारमा आधारित उद्योग एक सय ६२, पर्यटन उद्योग एक सय ६०, उत्पादनमूलक उद्योग ८३ र सूचना प्रविधिमा आधारित उद्योग तीनवटा दर्ता भएका छन् ।

सो वर्षमा ऊर्जा तथा खनिजमूलक कुनै पनि उद्योग दर्ता भएनन् । एक वर्षमा दर्ता भएका उद्योगमा महिला ९ सय ३९ र पुरुष एक हजार १ सय १८ गरी दुई हजार ५७ जनालाई रोजगारी सिर्जना भएको छ ।

यसैगरी गत वर्ष ३ सय ६५ उद्योग खारेज भएका छन् । खारेज हुने उद्योगको सङ्ख्या बर्सेनि वृद्धि हुँदै गएको कार्यालय प्रमुख ढकालले बताए । उनका अनुसार थपिएका उद्योगको ५० प्रतिशत सङ्ख्या खारेज भएका छन् । “नयाँ उद्योग दर्तासँगसँगै खारेज हुने उद्योगको सङ्ख्यासमेत धेरै छ । आर्थिक गतिविधिमा शिथिलता, विदेश जाने प्रवृत्ति र धेरै ठाउँमा कर तिर्नुपर्ने बाध्यतालगायत कारणले उद्योग खारेजीका लागि आउने गरेका छन्”, कार्यालय प्रमुख ढकालले भने । 
 
कार्यालयका अनुसार जिल्लामा वैदेशिक रोजगारीबाट फर्केर आएका युवा तथा स्वरोजगारका लागि कृषि तथा पशुपक्षी उद्योग व्यवसायमा लगानी बढ्दै गएको छ । जिल्लामा हालसम्म २४ हजार २ सय ७८ उद्योग दर्ता भएकामा गत आर्थिक वर्षसम्ममा ५ हजार ८ सय ३२ वटा खारेज भई १८ हजार ४ सय ४६ सञ्चालमा रहेका छन् ।
 
यसैगरी, वाणिज्य फर्महरूको सङ्ख्या ३० हजार १ सय ७० रहेको छ । गत आर्थिक वर्षमा १ हजार १ सय ९३ वाणिज्य फर्म दर्ता भएकामा ४ सय २१ वटा खारेज भएका थिए । पोखरा देशको पर्यटकीय राजधानी हो । यहाँ हालसम्म ४ सय ६२ ट्राभल्स, २ सय ३८ ट्रेकिङ, ४ सय ७० होटल, ८ जलयात्रा व्यवसाय र ३६ वटा घरबास सञ्चालनमा रहेको पर्यटन तथा उद्योग कार्यालयले जनाएको छ ।
रासस 

प्रतिक्रिया