बंगलादेशमा अनिश्चिकालीन कर्फ्यु, देख्नेवित्तिकै गोली हान्ने आदेश

 

एजेन्सी । बंगलादेशमा आरक्षण विरोधी विद्यार्थी आन्दोलन चर्किएपछि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ । कर्फ्यु आदेश जारी गर्दै सरकारले देख्नेवित्तिकै गोली हान्ने आदेश पनि दिएको छ । प्रधानमन्त्री शेख हसिना र सबै सुरक्षा निकायका प्रमुखबीच बसेको बैठकमा उक्त निर्णय लिइएको हो । 

यस्तै, मोबाइल तथा इन्टरनेट सेवा पनि सरकारको आदेशमा पुनः बन्द गरिएको छ । हिंसा बढदै गएपछि सरकारले आजदेखि लागु हुने गरी तीन दिनका लागि सार्वजनिक बिदाको समेत घोषणा गरेको छ । सत्तारुढ बंगलादेश अवामी लिगको छात्र संगठन बंगलादेश छात्र लिग, प्रहरी र विभेदविरुद्धको विद्यार्थी आन्दोलनका प्रदर्शनकारीबीच विभिन्न स्थानमा द्विपक्षीय र त्रिपक्षीय भिडन्त भइरहेको छ । आरक्षण कोटाकोविरुद्धमा दोश्रो चरणका आन्दोलनमा होमिएका विद्यार्थीमाथि प्रहरी दमन हुँदा ९१ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।  

आरक्षण विरोधी आन्दोलन गर्दै आएका विद्यार्थीहरूले प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग्दै शुरु गरेको दोश्रो चरणको आन्दोलनको पहिलो दिन नै विद्यार्थीहरु माथि दमन भएको हो । प्रहरीले आन्दोलनकारीलाई तितरवितर पार्न अश्रुग्यास प्रहार गरेको र सत्तारुढ दलका कार्यकर्ताले भीडमा ग्रिनेड हानेका छन । पहिलो चरणको आन्दोलन नै हिंसात्मक बनेको यो आन्दोलनका क्रममा अहिलेसम्म मारिनेको संख्या दुई सय नाघेको छ । 

यस्तै, विद्यार्थी आन्दोलनकारीले सर्वसाधारणलाई कर नतिर्न र कुनै पनि सरकारी सुविधा उपभोग वापतको विल पनि भुक्तानी नगर्न आह्वान गरेका छन् । विद्यार्थीहरुले देशभरका कारखाना र सार्वजनिक यातायात बन्द गर्न आह्वान गरेका छन । गत महिना स्वतन्त्रता सेनानीका सन्तानलाई सरकारी जागिरमा दिइएको आरक्षणको विरोधमा भएको हिंसात्मक प्रदर्शनहरूमा २ सयभन्दा बढी मानिस मारिएका थिए । सर्वोच्च अदालतले ३० प्रतिशतको आरक्षणलाई ५ प्रतिशतमा सीमित गर्न आदेश दिए पनि आन्दोलनमा भएको दमनका दोषीलाई सजाय दिइनु पर्ने माग गर्दै विरोध गर्ने क्रम जारी छ ।। 

प्रतिक्रिया