एक महिने गुँला पर्व आजदेखि सुरु
काठमाडौं । विशेषगरी बौद्ध धर्मावलम्बीले धुमधामका साथ मनाउने एक महिने गुँला पर्व आजदेखि शुरु भएको छ । नेपाल संवतको गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइने गुँला पर्वका अवसरमा विभिन्न परम्परागत बाजागाजाका साथ बौद्ध चैत्यहरूको परिक्रमा गरिन्छ ।
गुँला पर्वको अवसरमा विशेषगरी नौ बाजा बजाउने प्रचलन रहेको छ । गुँला पर्व विशेषगरी बौद्धमार्गीको पर्व भएता पनि गुँला पर्वमा अन्य धर्मावलम्बीसमेत सहभागी हुने गरेका छन् । यस पर्वमा बौद्धमार्गी विशेषगरी स्वयम्भू महाचैत्यको दैनिक परिक्रमा गर्नुका साथै बौद्ध, पाटनको पुल्चोकलगायत उपत्यकाका विभिन्न चैत्यको समेत परिक्रमा गर्ने गर्दछन् ।
गुँला पर्वको प्रमुख विशेषता न्याकुँ बाजा हो । यो बाजा राँगाको सिङबाट निर्माण गरिएको हुन्छ । पछिल्लो समय विभिन्न मौलिक बाजागाजासहित गुँला पर्व मनाउने प्रचलनमा वृद्धि भएको छ । जसअनुसार धाः बाजा, बाँसुरी बाजा, धिमे बाजा, भुस्या बाजा बजाएर पनि चैत्यका साथै स्थानीय इष्टदेवता, गणेश, भीमसेन भैरवलगायतका देवी देवताको समेत परिक्रमा गर्ने प्रचलन बढेको पाइन्छ । साथै बौद्ध धर्मावलम्बी बाहेकका समुदायसमेत गुँला पर्वको अवसरमा चैत्यहरूको परिक्रमा गर्न जान थालेका छन् ।
पर्वकै अबसरमा स्वयम्भूमा आजदेखि एक महिनासम्म मेला लाग्दछ । मेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट थेरवाद, महायान र वज्रयान सम्प्रदायका अनुयायीहरू पाँच लाख आउने अपेक्षा गरिएको आयोजक समितिले जनाएको छ । गुँला पर्वका रूपमा बौद्ध धर्मावलम्बीले मनाउने चाडका अवसरमा आयोजित मेला अवधिभर हरेक दिन बिहान गुँला बाजा बजाउँदै स्वयम्भू महाचैत्यको दर्शन तथा परिक्रम, शोभाभगवतीसँगै विजेश्वरी र सेतो मत्स्येन्द्रनाथको परिक्रमा तथा करुणामयको नामबाट पनि चिनिने सेतो मत्स्येन्द्रनाथको दर्शन गर्ने परम्परा छ ।
प्रतिक्रिया