आज साउन महिनाको तेस्रो सोमबार देशभरका शिवालयमा भक्तजनहरुको भीड
काठमाडौं । आज साउन महिनाको तेस्रो सोमबार । काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा भक्तजनहरुको भीड लागेको छ । पशुपतिनाथ मन्दिरमा साउने सोमबारको पूजाआज गर्न आएका दर्शनार्थीका लागि बिहान साढे ३ बजेदेखि नै चारै ढोका खुला गराइएको छ ।
दर्शनार्थीका लागि सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानी लगायत व्यवस्थापन गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । साउन महिना र सोमबार भगवान शिवजीको महिना र बार भएकाले पनि यस अवसरमा धेरै भक्तजनको शिवालयमा भीड लाग्ने गर्छ । साउन महिनामा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोल बम यात्रा गरी जल चढाउने भक्तजनको पनि भीड लाग्ने गर्दछ । बोल बम यात्रा गरी सुन्दरीजलबाट शुद्ध जल ल्याएर पशुपतिनाथमा चढाउने चलन छ ।
काठमाडौं उपत्यकामा पशुपतिनाथसहित, गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, किराँतेश्वर, भालेश्वरसहित, काभ्रेपलाञ्चोकको साँगा, तनहुँको देवघाट, म्याग्दीको गलेश्वर लगायतका शिवालयमा भक्तजनहरु बिहानैदेखि स्नान गरी महादेवको पूजाआराधनामा व्यस्त छन् ।।
प्रतिक्रिया