सकियो काठमाडौं उपत्यकाको सबैभन्दा लामो जात्रा
ललितपुर । ललितपुरको जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाइएसँगै उपत्यकाको सबैभन्दा लामो जात्रा सकिएको छ ।
रातो मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन आज आइतबार भोटो देखाएर भोटो जात्रा समापन गरिएको हो । वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन भोटो देखाउने प्रचलन रहेको छ । रातो मच्छिन्द्रनाथको रथजात्रालाई काठमाडौं उपत्यकाको सबैभन्दा लामो जात्राका रुपमा लिइन्छ । भोटोजात्रा देखाइसकेपछि मच्छिन्द्रनाथलाई रथबाट ओराली खटमा राखी बाजागाजाका साथ ललितपुरको बुङगमती पुर्याइनेछ । परम्परा अनुसार रातो मस्त्येन्द्रनाथलाई सुर्य दक्षिणायण हुँदा ६ महिना बुङमती र उत्तरायण हुँदा ६ महिना ललितपुरको पाटनमा राख्ने चलन छ ।
किंवदन्तीअनुसार यो जात्रा सुरु भइसकेपछि नागराज कर्कोटककी रानीको आँखा दुख्यो । कर्कोटक वैद्यको खोजीमा लागे । खेतमा काम गरिरहेका किसानलाई वैद्य ठानी नागलोक अर्थात् टौदह लगे । डराएका किसानले मच्छिन्द्रनाथको प्रार्थना गरी हात माडेर मयललाई औषधिका रूपमा कर्कोटकलाई दिए । औषधिले रानीको आँखा दुख्ने रोग निको भयो । पुरस्कारस्वरुप मणि माणिक्यले युक्त भोटो किसानलाई दिएर मनुष्यलोकमा फर्काइयो । किसानले भोटो खेतको डिलमा राखेर काम गर्न थाले । मनुष्यरुपी भूत आएर भोटो लग्यो । किसानले खोजे, पाएनन् ।
मच्छिन्द्रनाथको जात्रा हेर्न जाँदा आफूले पुरस्कारस्वरुप पाएको भोटो मनुष्यका रूपमा आएको भूतले लगाएको देखेर किसानले दाबी गरे । भूतले दिन नमानेपछि विवाद भयो । कर्कोटक नागलाई समेत बोलाएर सोधखोज गरियो । अन्तिममा भोटोको अधिकारी दुवै हुन नसक्ने निष्कर्ष निकाली मच्छिन्द्रनाथको जिम्मा लगाइयो ।
आधिकारिक प्रमाणसहित आउनेलाई भोटो दिन रातो मच्छिन्द्रनाथको रथयात्रा सकेपछि भोटो जात्रा गर्ने परम्परा बसेको बताइन्छ । त्यो वर्षदेखि प्रत्येक साल साइत हेरेर भोटो देखाउने गरिएको जनविश्वास छ । अहिलेसम्म कसैले प्रमाण जुटाएर भोटो लैजान नसकेको किंवदन्ती छ ।
किम्बदन्ती अनुसार विशेषगरी भूत, प्रेतलाई खाना दिन यो जात्रा गरिएको विश्वास छ । वास्तविक हकदारले दाबी गर्न नआएसम्म भोटो मच्छिन्द्रनाथकै स्वामीत्वमा रहने भनाई रहेको छ ।
प्रतिक्रिया