कोदोको महिमा

डा. नारायण घिमिरे

वेद र प्राचीन संस्कृत ग्रन्थहरूमा  "कुधान्य" र "क्षुद्रधान्य" जस्ता शब्द उल्लेखित त छन् तर ती शब्दहरूको अर्थ र सन्दर्भको हाम्रो समाजमा बंग्याएर प्रस्तुत भएको भेटिन्छ। हुनुपर्ने सामान्य गुण भन्दा कमसल गुणस्तरमा पुग्ने गरी खराब भएको अन्नलाई संस्कृतमा कुधान्य (Kudhanya) भनिन्छ। कम घनत्व युक्त पोषण भएको अन्न कुधान्य (Kudhanya) वर्गमा पर्दछ। जस्तै निकै पुरानो अन्न। बाडी पहिरोमा परि ओसिएर जोगिएको हेर्दा राम्रो लाग्ने, तर गुणस्तर नदिने अन्न।  तैयारी खानाको जस्तो खाना बनाउने अन्नको सेल्फ लाइफ (Shelf Life) हुँदैन। रिटेस्ट पिरियड (Retest  Period) हुन्छ। मतलब यो बिग्रेको नबिग्रेको सेन्सरी र अन्य परीक्षणवाट हेरिन्छ। कहिले काहीँ बिग्रेको सडेको त भन्न नमिल्ने तर पोषण नदिने अन्ननै कुधान्य (Kudhanya) अन्नमा पर्छ। कोदो होइन जुनसुकै अन्न पनि  आफ्नो पोषण क्षमता गुमाएपछि कुधान्य (Kudhanya) अन्नमा पर्दछ।
त्यस्तै "क्षुद्रधान्य" शब्दको अर्थ सानो आकारको अन्न वा गौण अन्नको प्रकृति हो। साना आकारका  अन्नहरू धान, मकै, चामल र गहुँको तुलनामा सानो आकारको अन्न जस्तै कोदो आदि  क्षुद्रधान्य (Kshudradhanya) अन्नमा पर्दछ। आजको बोक्रे साहित्यहरूले बताउने  भन्दा ठीक फरक कुनै चिज जति सानो हुन्छ त्यति शक्तिशाली हुने संस्कृतको मान्यता छ। जस्तै अणु भन्दा परमाणु, परमाणु भन्दा चेतना। त्यस्तै अन्नको हकमा समेत क्षुद्रधान्य (Kshudradhanya) अन्न शरीरको निर्माण भन्दा मनोवैज्ञानिक सवलताको लागि उच्च मानिन्छ।
वेदमा कोदो (Millet), "यव" (Yava - Barley) आदिलाई कहिल्यै कम गुणस्तरको, पत्रु वा अनिष्ट भनिएको छैन। प्रायः अन्नको गुणस्तर, आकार, र महत्त्वको आधारमा वर्गीकरण र वर्णन गर्न प्रयोग हुने कुधान्य (Kudhanya) वा क्षुद्रधान्य (Kshudradhanya) जस्ता शब्द अन्नको संस्कृतमा नामको रुपमा प्रयोग हुँदैन।
वेदमा कोदो मानव स्वास्थ्य र आध्यात्मिक विकासका लागि अत्यन्त मूल्यवान छ भनी प्रस्ट लेखिएको छ। पौष्टिक तत्त्वहरूले भरिपूर्ण कोदोले पाचन प्रणालीलाई सुधार्न, रगतमा चिनीको मात्रा नियन्त्रण गर्न, हृदय स्वास्थ्यलाई समर्थन गर्न र तौल व्यवस्थापनमा मद्दत पुर्‍याउँछ भनिएको छ । तिनीहरू एन्टिअक्सिडन्ट र ग्लुटेन-रहित भएकाले स्वास्थ्य लाभमा थप योगदान गर्छन् भन्ने कुरा अप्रत्यक्ष उल्लेख छ। आध्यात्मिक रूपमा, कोदो लाई सात्त्विक भोजन मानिन्छ। जसले मनको शान्ति, आध्यात्मिक विकास र ध्यान तथा साधनामा सहायता पुर्‍याउँछ। कोदोको प्रयोग वैदिक अनुष्ठान र भोगमा नगरिने भने होइन। गरिन्छ। तर सँग सँगै कोदो वैदिक अनुष्ठान र होमादीमा प्रयोग नगर्न, आफ्नो खानको लागि जोगाउनु उत्तम हुने पनि सङ्केत गरिएको समेत भेटिन्छ। कोदोले मानसिक शुद्धता र आन्तरीक ऊर्जा बढाउँछ, शरीर र मस्तिष्कलाई सन्तुलित राख्छ र समग्र कल्याणलाई प्रवर्द्धन गर्छ भनिएको छ।
आयुर्वेदका अनुसार कोदो कफ, पित्त, र वात तीनैवटा दोषलाई सन्तुलित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने कुरा उल्लेख भएको छ। कोदोको दाना सुकेको र हल्का हुन्छन्। जसले कफलाई सन्तुलित राख्न मद्दत गर्छ। कफका अतिरिक्त समस्याहरू जस्तै भोक, मोटोपन, र आलस्यलाई कोदोले कम गर्छ। पित्तको लागि, कोदोको शीतल प्रभाव हुन्छ।
जसले पित्तको तातो, अम्लता, र जलनलाई शान्त गर्दछ। यद्यपि वातलाई कोदोले कहिलेकाहीँ बढाउन सक्छ। तर राम्रोसँग पकाएर र तातो मसला तथा गाइको भैँसीको शुद्ध घ्यूको साथ तयार गरी खाने हो भने कोदोले वातलाई पनि सन्तुलित गर्न सक्ने भनिएको छ। सन्तुलित खानामा समावेश गर्दा, शारीरिक सन्तुलन र स्वास्थ्यलाई प्रवर्द्धन गर्न मद्दत गर्ने र आध्यात्मिक जग तैयार गर्ने कोदो लाई कु-अन्न भनेर वेद वा वेदमा आधारित संस्कृत साहित्यमा भनिएको छैन।
वैदिक अवधारणा अन्तर्गत काल्पनिक कथा, उपन्यास आदिलाई माइथोलोजी भनिन्छ। सत्य घटना भित्रको उच्च सामाजिक मूल्य, प्रकृति मैत्री जीवन शैली र मानवताको पक्षहरूमा अधिक केन्द्रित रहेर त्यसको ज्ञानको मूल्यमा केन्द्रीत, समय काल आदि वास्ता नगरी संलग्न गरिएको सूचना युक्त लेखनहरू कथा हुन्छ। सकारात्मक, नकारात्मक सबै सत्य समावेश भएको, समय समेत उल्लेख भएको सूचना युक्त लेखनहरू इतिहास हुन्छ।
हाम्रोमा काल्पनिक कथा, उपन्यास लेखि चर्चित बनेका कतिपय बुद्धिविलासी भनाउँदाहरुले रामायण महाभारत जस्ता कथाहरूलाई माइथोलोजी भनी आफ्नो बिचार र लेखहरू मार्फत अर्को माइथोलोजि ठोक्ने गर्दछन्। आफै भाले बनेर सम्पादन हुने अनलाइनहरूका तिनै व्यक्तिका माइथोलोजिहरु सम्प्रेषण भएको हुन्छ। तिनै माइथोलोजिहरु सत्य मानेर समाजले तिनै व्यक्तिलाई हिरो मानेर बोक्ने चलन हिजोको दिन सम्म व्याप्त थियो। आज तिनीहरूलाई समाजले सुन्न छोड्यो। समाजले तिनीहरूको बुद्धिविलासी खोक्रोपन अब भने पहिचान गरिसक्यो।
उदाहरणको लागि नियत बस नै ग्रिफितले (Ralph Thomas Hotchkin Griffith, 1826–1906) हाम्रो चार वेदको ज्ञान बिगार्न वेदको अङ्ग्रेजीमा गलत रूपमा उल्था गरिदिए। तिनै उल्थालाई हिन्दीमा उल्था भएको भ्रमयुक्त लेखौटलाई आफ्नो अध्ययनको आधार बनाएर संस्कृत साहित्य र वेद बुझेको सोच्नेहरूको व्याख्याले अन्नहरूको राजा भनी वेद, आयुर्वेदले चिन्ने कोदो जस्तो उत्पादनलाई कनिष्ठ भनी व्याख्या गर्ने सम्मको धृष्टता भयो। वैदिक शास्त्रमा कोदो विभिन्न नामहरूवाट चिनिने गर्दछ। जस्तै: 
श्यामाक (Shyamaaka) - Little Millet
कोद्रव (Kodrava) - Kodo Millet
कङ्गु (Kangu) - Foxtail Millet
नाचनी (Nachani) - Finger Millet (Ragi)
प्रियङ्गु (Priyangu) - Proso Millet
उदाल (Udāla) - Barnyard Millet
कुटकी (Kutaki) - Barnyard Millet
अन्न (Anna) - General term for grain, often used for millets
वारिपु (Varipu) - Pearl Millet
साव (Sava) - General term for small millets
आज हाम्रा बजारका स्थापित पत्रपत्रिका र अनलाइनहरूमा वेदमा समेत पुरानो अनाज कोदोलाई कुधान्य, क्षुद्रधान्य भनी कूअन्न, गरीवको खाना, जुठो अन्न भनिएको, नामबाटै हेपिएको भन्ने जस्ता भ्रम दिने सूचनाहरू सम्प्रेषण भएको भेटिने गर्दछ। यस्ता भ्रम फैल्याउन हाम्रो पत्रकारिताको ठुलो भूमिका रहेको देखिन्छ।
आयुर्वेदिक र वैज्ञानिक मान्यता अनुरूप पोषण तत्त्व दिने अन्नले स्थूल शरीर बलिष्ठ गरिदिने गर्दछ। कोदो (Millet) र "यव" (Yava-Barley) आदि मनो-अध्यात्मिक सबलताको लागि उत्तम मानिन्छ। तिनै कारण वैदिक अवधारणाहरूले कोदोलाई होम आदिमा प्रयोग नगर्न सल्लाह दिइएको होमको लागि प्रयोग गर्न उचित नभएको कुधान्य (Kudhānya) भनिएको छ। कम घनत्वको पोषण रहेको तर मनोविज्ञान, ध्यान र आध्यात्मिक क्षमता अभिवृद्धि गर्ने उच्च भ्यालु एड भएको अमूल्य हिलिङ्ग खानाको अर्थमा कुधान्य शब्द छनौट भएको छ।
कोदोको सन्दर्भमा ऋग्वेदमा भगवान् इन्द्रले कृषा कान्व ऋषि (Krisha Kanva Rishis सप्त ऋषिहरूमध्येका एक)  लाई रोप्न मिल्ने कोदोको घाँसको बिउँको मुठाहरू दान गरेको कुरा आउँछ। जुन ब्याडवाट आउने बल्बजा Balbaja (Finger Millet) को घाँसको बिउँको मुठाहरू भनी बुझिन्छ।
यसको अर्थ वेदमा पहिचान भएका २९-३० कोदोको घाँस ज्ञान प्रदायक शक्ति दिने क्षमताका बिरुवा हुन्। त्यसलाई कर्म मार्फत संरक्षण र संवर्द्धन गरी त्यसको घाँस, बिरुवा, जरा र अन्न सबैको उचित उपयोग गर्न भनी यहाँ सङ्केत भएको हो। 
त्यसैगरी यजुर्वेदमा कोदोको दाना यज्ञको आगोमा होम हाल्न उपयोगी भनी लेखिएको छ। चन्द्र देवताको होम गर्दा श्यामक (Shyamaka - barnyard millet) को उपयोग गर्न सुझाइएको छ।
स्मरण रहोस् वैदिक मान्यतामा यज्ञ भनेको कर्म हो। होमको लागि उपयोगी भन्नुको अर्थ मनोवैज्ञानिक उपचार गर्ने, वातावरणको हावा दूषित गर्ने रोगाणु मुक्त गर्ने एरोमेटिक पैदा गर्ने, मनोवैज्ञानिक उपचार गर्ने फ्ल्याभोनोइड आदि हुने, घ्यूसँग बल्दा धुवा कम गर्दै श्वास प्रश्वास मार्फत एलर्जी र मनोरोग उपचार गर्ने सारतत्व निकाल्न सहयोग गर्ने क्रुडफाइबर अधिक भएको, पानी कम भएको आदि गुणको अन्न भन्ने हुन्छ।
अन्न बाहेकका चरुहरूमा बोसीय तत्त्व अधिक हुने गर्छ। होम आदिमा उपयोग गरिने अन्नमा कम फ्याट वा तेल  हुन्छ। वेदमा श्यामक Shyamaka (barnyard millet) लाई सोमको (चन्द्र देवता) प्रसाद भनी तोकिएको छ। मनोवैज्ञानिक सबलता मार्फत आध्यात्मिक ज्ञानको लागि जरुरी हुने मनोविज्ञानको पूर्वाधार निर्माण गर्ने औषधीय र हिलिङ्ग गुणको खाद्य र पेय वैदिक अवधारणामा सोम देवता (Lord Soma) भनिन्छ। 
चन्द्रमाको प्रकाशले दिमाग शान्त, खुसी र सुखी राख्ने गर्दछ। त्यसैले दिमाग शान्त, खुसी र सुखी राख्ने सारतत्व दिने खाद्य वा ओखती वा ज्ञान आदिलाई वैदिक अवधारणामा सोम देवता र साङ्केतिक रूपमा चन्द्र देवता भनिएको हुन्छ। वेदमा नै रोग विरुद्ध उपयोगमा आउने रोक प्रतिरक्षा प्रणाली चुस्त गर्ने सारतत्व युक्त श्यामक (Shyamaka - barnyard millet) यज्ञमा आगो बल्नको लागि प्रयोग गर्न अत्यन्त उपयोगी अन्न भनी उल्लेख भएको छ।
अनु भनिने सानो कोदो Anu (little millet) सानो चामल जस्तो हुने सानो आकारमा हुने भन्दै यो स्वादिष्ट र सजिलै पचाउने योग्य आहार भएकोले त्यसलाई सात्त्विक खानाको रूपमा उपभोग गर्न सुझाएको छ। वासोर्धारा होम (Vasordhara Homa) को चर्चा गर्दा अनु, श्यामका निबारा (foxtail millet) लाई उत्कृष्ट खाद्य ऊर्जाको स्रोत, जसले शरीरमा रोग सहन गर्ने रोग प्रतिरोधी एन्टीबडी निर्माणमा सहयोग गर्ने एजेन्टको भूमिका खेल्ने चर्चा भएको छ। महाभारतमा अनुष्ठानहरूमा श्यामक (Shyamaka-barnyard millet) निर्मित खाना खान भनिएको छ। गरुड पुराणको एक श्लोकले श्यामकको औषधीय र उपचारात्मक क्षमता हुने, पाचन क्षमता वृद्धि गर्ने, सुन्निएको शरीरवाट पानी हटाउने, पिसाब लगाउने, पित्त र कफ दोषहरू हटाउने, केही वात दोष भने उत्पन्न गर्न सक्ने तथा पसिना निकाल्न सहायक हुने कुरा उल्लेख छ। त्यस्तै अग्नी पुराण श्यामका निबारा (foxtail millet) स्नान पर्वको समयमा सूर्य देवताको प्रसादको रूपमा ग्रहण गर्न भन्दछ।
वेदमा उल्लेख भएका माथिका कुराहरूमा कतै पनि कोदोलाई हेलाँ गरिएको छैन। न त यसको हुर्मत लिने काम भएको छ। न यसको यज्ञमा कुनै उपयोग आउँदैन भन्ने अर्थ दिने जस्ता बकवासनै उल्लेख भएको भेटिन्छ। त्यसैले कोदो वैदिक अवधारणा अनुरूप कनिष्ठ खाद्य वा बिटुलो खानाको रूपमा दर्ज भएको भनी सम्प्रेषण भएका समाचार र सूचनाहरू विना आधिकारिक ग्रन्थको अध्ययन केन्द्रीत भएर भन्दा कि त खराब नियतमा कि वैदिक अवधारणा अध्ययन नगरेका  बेतुकहरुसँग भएको बुद्धि विलासी तर्कमा आधारित रहेर आएको हुन सक्ने अत्यधिक सम्भावना देखिन्छ।

प्रतिक्रिया