चितवनमा मान्छेलाई आक्रमण गर्ने बाघ खोज्न ड्रोन र हात्तीको प्रयोग गर्ने तयारी

चितवन । मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्न ड्रोन र हात्तीको प्रयोग गर्ने तयारी गरिएको छ । आज बिहान नारायणगढस्थित मानवबस्ती नजिक नारायणी नदी किनारमा मान्छेलाई आक्रमण गरेको बाघलाई नियन्त्रण गर्ने तयारी गरिएको हो ।
 
जिल्ला वन कार्यालय चितवनका प्रमुख थिरबहादुर कार्कीका अनुसार नारायणी किनारमा रहेको झाडीमा बाघ लुकेको आशङ्का गरिएको छ । उक्त बाघ खोजी गर्नका लागि ड्रोन क्यामराबाट हेर्ने तयारीसहित चितवन राष्ट्रिय निकुञ्ज कार्यालयबाट ड्रोन मगाइएको कार्कीले जानकारी दिए । कार्कीका  अनुसार ड्रोनले बाघ पहिचान गरेपछि हात्तीको सहायताले डार्ट (बेहोस) गर्ने योजना छ ।
 
नारायणी नदीमा मिसिनुअघि ढललाई प्रशोधन गर्न बनाइएको ट्याङ्क क्षेत्रको नर्कट झाडीमा बाघ रहेको अनुमान गरिएको प्रमुख कार्कीले जानकारी दिए । सो क्षेत्रमा एकातर्फ मानवबस्ती छ भने अर्कोतर्फ नारायणी नदी पर्दछ । 

चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ भेटेनरी चिकित्सक डा.विजयकुमार श्रेष्ठले कसराबाट ड्रोन र तीन वटा हात्ती आउँदै गरेको बताए । उनका अनुसार सुरुमा ड्रोनबाट पहिचान गरेर बाघ देखिएमा डार्ट गर्ने तयारी गरिएको छ । सो क्षेत्रमा मानव आवतजावत गर्न रोकिएको छ । पाइलालाई हेर्दा माउबाट भर्खरै छुटेर सिकार गर्न सुरु गरेको बाघ हुनसक्ने चिकित्सक श्रेष्ठले जानकारी दिए । “बाघ कहाँबाट आयो यकीन हुन सकेको छैन । यद्यपि नगर वन क्षेत्रबाट आएको हुनसक्ने आशङ्का गरिएको छ”, 

आज बिहान हिँड्ने क्रममा भरतपुर महानगरपालिका–२ बेलटाँडीका ६० वर्षीय पशुपति श्रेष्ठलाई बाघले आक्रमण गरेको थियो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान  भरतपुर–१ नारायणी किनारमा बाघले श्रेष्ठलाई आक्रमण गरेको हो ।
 
बाघको आक्रमणबाट घाइते भएका श्रेष्ठको तीन ठाउँमा हड्डी भाँचिएको छ भने पाँच वटा दाँत फुत्केर घाँटीमा पुगेको छ । चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार गराइरहेका श्रेष्ठको स्वास्थ्य अवस्था खतरामुक्त रहेको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जनकारी दिए । 
रासस 

प्रतिक्रिया