सुदूरपश्चिममा आज नयाँ सरकार गठन हुँदै

 

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा आज नयाँ सरकार गठन हुँदै छ । शुक्रबार मुख्यमन्त्री दीर्घ सोडारीले राजीनामा लिएपछि प्रदेश प्रमुख नजिर मियाँले आज साँझ ५ बजेसम्मको लागि नयाँ सरकार गठनको समय दिएका छन । 

केन्द्रमा कांग्रेस एमालेको समीकरणमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कांग्रेसले पाउने सहमति भएको थियो । सोही अनुसार आज कांग्रेसले मुख्यमन्त्रीमा दाबी पेस गर्ने छ । मुख्यमन्त्रीमा कांग्रेसबाट तीन जनाको दाबी रहे पनि संसदीय दलका नेता कमल बहादुर शाह नै मुख्यमन्त्री बन्ने सम्भावना बढी रहेको देखिएको छ । अरू दुई आकाङ्क्षी प्रकाश देउवा र बहादुर सिंह थापा पनि शाहलाई मुख्यमन्त्री बनाउन सहमत भइसकेका छन् । 

कांग्रेस सभापति शेरबहादुर देउवाले शाहलाई मुख्यमन्त्री बनाउने गरी तयारी अगाडी बढाउन निर्देशन दिइसकेका छन् ।  कांग्रेसको सरकारलाई एमालेले पनि समर्थन गर्ने छ । सुदूरपश्चिम प्रदेशमा ५३ जना प्रदेश सभा सदस्य छन् । मुख्यमन्त्रीलाई बहुमत पुर्‍याउन २७ सांसद आवश्यक पर्छ । यहाँ कांग्रेसका १८ र एमालेका ११ सांसद छन् । यी दुई दल मात्रै मिल्दा पनि बहुमत पुग्छ । 

आज साँझ सम्म यी दुई दल बाहेक नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन गर्ने जनाइएको छ । पहिलो पाँच वर्ष माओवादीका त्रिलोचन भट्टले पुरै कार्यकाल मुख्यमन्त्री चलाएको सुदूरपश्चिम प्रदेशको दोस्रो कार्यकालमा भने अस्थिरताको चरम रूप देखिएको छ । 

प्रतिक्रिया