पर्यावरण संरक्षण गर्न झापामा वृक्षारोपण गरिँदै
झापा । झापामा फलफूल, काठ र हरियालीका लागि वृक्षारोपण गर्ने अभियान चलेको छ । जिल्लाका सरकारी निकाय, निजी क्षेत्र र राजनीतिक दलको पहलमा हजारौँ बिरुवा रोपिएका छन् ।
पर्यावरण संरक्षण गर्न नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को दमक नगरपालिका क्षेत्रमा एक लाख बिरुवा रोप्ने अभियान जारी छ । केन्द्रका प्रदेश कमिटी सदस्य तथा दमक नगर कमिटीका उपप्रमुख शङ्कर बस्नेतले सङ्गठन सुदृढीकरण अभियानअन्तर्गत यस वर्ष ५० हजार र आगामी वर्ष ५० हजार बिरुवा रोप्ने लक्ष्य रहेको बताए ।
उपप्रमुख बस्नेतले यस वर्ष २५ हजार बिरुवा नगरका १० वडामा रोपिसकेको र पार्टी कार्यालयमा १२ हजार बिरुवा भण्डारण गरेर राखिएको जानकारी दिए । अभियानअन्तर्गत लिच्ची, आँप, कागती, जामुनलगायत बिरुवा रोपिएका छन् । अभियानमा दमक नगरपालिकाका १० वटै वडाका पार्टी कमिटी, टोल समिति सहभागी छन् ।
कोशी प्रदेश वन मन्त्रालय र डिभिजन वन कार्यालय उदयपुरबाट बिरुवा अनुदानमा ल्याएको र केही बिरुवा पार्टीले आफ्नै खर्चमा खरिद गरेर वितरण गरेको जनाइएको छ । डिभिजन वन कार्यालयले यस वर्ष चार लाख ४० हजार बिरुवा वितरण गरिने बताएको छ । कार्यालयका प्रमुख मेघराज राईले झिलझिले, मेचीनगर, सुरुङ्गा, भद्रपुर र हल्दीबारीस्थित नर्सरीमा उत्पादन गरिएका विभिन्न प्रजातिका बिरुवा धमाधम वितरण भइरहेका बताए ।
वन कार्यालयले लिच्ची, आँप, कटहर, गुलमोहर, रक्तचन्दन, श्रीखण्ड, रुद्राक्ष, टिक, मसला, कदम, चिउरी, हात्तीफल, बयर, सेमिलता, कुसुम, कदम, कल्कीलगायत फलफूलका बिरुवा उपलब्ध गराउँदै आएको छ । शिवसताक्षी–६ र मेचीनगर–४ ले वडास्तरमा वृक्षारोपण अभियान सञ्चालन भइरहेको छ । मेचीनगरको एक लाख र शिवसताक्षीको पाँच लाख बिरुवा रोप्ने लक्ष्य छ ।
अभियानअन्तर्गत अमला, तेजपात, मसला, टिक, गुलमोहर, खमारी, मेन्दुला, टाँकीलगायत रुख तथा छाँयादार फलपूmलका बिरुवा रोपिएका छन् । बिरुवालाई नियमित मलजल र गोडमेल एवं संरक्षण भएनभएको सम्बन्धित वडाले अनुगमन गर्दै आएको छ ।
रासस
प्रतिक्रिया