आज रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा मनाइँदै

उपत्यकाम सार्वजनिक बिदा

काठमाडौं । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा आज आइतबार मनाइँदै छ ।

रातो मत्स्येन्द्रनाथको रथ बिहीबार लगनखेलबाट तानेर जावलाखेल पुर्‍याएसँगै आज भोटो देखाइने  छ ।

भोटो जात्रालाई करिब आठ सय वर्ष अघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने)                 भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको  हो । भोटो जात्रा देखाइसकेपछि मत्स्येन्द्रनाथलाई रथबाट ओराली खटमा राखी बाजागाजाका साथ बुङगमती पुर्‍याइनेछ । परम्परा अनुसार रातो मस्त्येन्द्रनाथलाई सुर्य दक्षिणायण हुँदा ६ महिना बुङमती र उत्तरायण हुँदा ६ महिना पाटनमा राख्ने चलन छ ।

किंवदन्तीअनुसार यो यात्रा सुरु भइसकेपछि नागराज कर्कोटककी रानीको आँखा दुख्यो । कर्कोटक वैद्यको खोजीमा लागे ।  खेतमा काम गरिरहेका किसानलाई वैद्य ठानी नागलोक अर्थात् टौदह लगे ।  डराएका किसानले मच्छिन्द्रनाथको प्रार्थना गरी हात माडेर मयललाई औषधिका रूपमा कर्कोटकलाई दिए । औषधिले रानीको आँखा दुख्ने रोग निको भयो । पुरस्कारस्वरुप मणि माणिक्यले युक्त भोटो किसानलाई दिएर मनुष्यलोकमा फर्काइयो । किसानले भोटो खेतको डिलमा राखेर काम गर्न थाले । मनुष्यरुपी भूत आएर भोटो लग्यो ।  किसानले खोजे । पाएनन् । मच्छिन्द्रनाथको जात्रा हेर्न जाँदा आपूmले पुरस्कारस्वरुप पाएको भोटो मनुष्यका रूपमा आएको भूतले लगाएको देखेर किसानले दाबी गरे । भूतले दिन नमानेपछि विवाद भयो । कर्कोटक नागलाई समेत बोलाएर सोधखोज गरियो । अन्तिममा भोटोको अधिकारी दुवै हुन नसक्ने निष्कर्ष निकाली मच्छिन्द्रनाथको जिम्मा लगाइयो । आधिकारिक प्रमाणसहित आउनेलाई भोटो दिन रातो मच्छिन्द्रनाथको रथयात्रा सकेपछि भोटो जात्रा गर्ने परम्परा बसेको बताइन्छ । त्यो वर्षदेखि प्रत्येक साल साइत हेरेर भोटो देखाउने गरिएको जनविश्वास छ । अहिलेसम्म कसैले प्रमाण जुटाएर भोटो लैजान नसकेको किंवदन्ती छ । पछिल्लो समय गुठी संस्थान ललितपुरका प्रतिनिधिले राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने जात्रा गरिँदै आएको छ ।

किम्बदन्ती अनुसार विशेषगरी भूत, प्रेतलाई खाना दिन यो जात्रा गरिएको विश्वास छ ।यस अवसरमा सरकारले आज उपत्यकामा सार्वजनिक बिदा समेत  दिएको छ ।


 

 


 

प्रतिक्रिया