एभिन्यूज खबरले कला,संस्कृति र श्रष्टामा समर्पित नयाँ कार्यक्रमको शुरुवात गर्ने
कार्यक्रम संचालकमा प्रकाश सायमी
काठमाडौं । हराउदै गएको मौलिकता,बिर्सिदै गएको कला,संस्कृति र परम्पराको जगेर्ना गर्ने उदेश्यले एभिन्यूज खबरले श्रष्टामा समर्पित नयाँ कार्यक्रमको शुरुवात गर्ने भएको छ ।
प्रत्येक शनिवार बिहान प्रसारण हुने कार्यक्रमको संचालन नेपाली साहित्यक क्षेत्रका अब्बल ब्यक्तित्व प्रकाश सायमीले गर्ने एभिन्यूज खबरले जनाएको छ । छिट्टै प्रसारणको तयारी गरिएको सो कार्यक्रम प्रत्येक शनिवार बिहान २ घण्टा( ८देखि १० बजेसम्म) संचालन हुनेछ । “खास शनिवार प्रकाश सायमीका साथ” नामक कार्यक्रम नेपाल र विश्वभर रहेका नेपालीले एभिन्यूज टेलिभिजन र एभिन्यूज डट टिभीमार्फत विश्वभर प्रत्यक्ष रुपमा हेर्न सक्नेछन् ।
नेपाली साहित्य, गीत सङ्गीतका अजर अमर श्रष्टामा समर्पित यो कार्यक्रम मार्फत एभिन्युज खबरले श्रष्टाकै पहलमा नयाँ विहानीको सुरूवात गर्न लागेको हो । यो कार्यक्रम नेपाल र नेपालीको पहिचानका लागि जीवन समर्पित गर्ने श्रष्टाको स्मरण र वर्तमानमा सर्जक बन्ने सपना बोकेका युवापुस्ताको लागि प्रेरणाको श्रोत बन्न सक्ने विश्वास लिइएको छ ।
कार्यक्रम संचालनका लागि एभिन्यूज खबर टेलिभिजनका कार्यकारी प्रमुख मिलन श्रेष्ठ र श्रष्टा सायमीबीच औपचारिक संझौता भइसकेको छ ।
बिगतमा राज्यको वेवास्ताका कारण कतिपय ख्यातीप्राप्त श्रष्टाहरु उपचारका लागि आर्थिक अभाव हुँदा ज्यान गुमाउने अवस्थामा पुगेका र कतिपयको अन्त्येष्टिका लागि समेत चन्दा संकलन गर्नुपरेको तितो यथार्थ रहेको अवस्थामा यस्तो स्थितिको अन्त्यका लागि पनि कार्यक्रम सहयोगी बन्ने अपेक्षा गरिएको छ । कार्यक्रमले हराउँदै गएको नेपाली मौलिक पहिचान,कला,संस्कृति,गीत संगीत र साहित्यक क्षेत्रको जगेर्नामा कोसेढुंगा साबित हुने विश्वास लिइएको छ ।
प्रतिक्रिया