गलकोटमा डेङ्गी र स्क्रब टाइफसका बिरामी बढे

बागलुङ । जिल्लामा साउनयता २६ जनामा डेङ्गी पुष्टि भएको छ । डेङ्गी पुष्टि भएकामध्ये गलकोट नगरपालिकामा मात्रै २४ जना छन् ।

बागलुङको मध्यभागमा रहेको गलकोट अहिले डेङ्गी र स्क्रब टाइफसको उच्च जोखिममा रहेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिए । साउनमा जिल्लाभर २६ जनामा डेङ्गी पुष्टि भएकामध्ये गलकोटमा मात्रै २४ जना बिरामी छन् । दुईजनाको धौलागिरि अस्पतालमा सङ्क्रमण पुष्टि भएको थियो । 

गलकोटमा गत असारदेखि हालसम्म ४१ जनामा डेङ्गी पुष्टि भइसकेको नगर स्वास्थ्य शाखा प्रमुख सुशिल पौडेलले जानकारी दिए । उनका अनुसार साउनमा मात्रै गलकोटभित्र १७ जना स्क्रब टाइफसका बिरामी फेला परेका छन् । अहिले अधिकांशले घरमा उपचार गराइराखेको  भन्दै जटिल समस्या देखिएकाको नगर अस्पतालमा उपचार भइरहेको पौडेलले जानकारी दिए । 

डेङ्गी र स्क्रब टाइफसको उच्च जोखिममा गलकोट नगरपालिका देखिएपछि सर्तकता अपनाउन थालिएको छ । ‘खोज र नष्ट गरौँ’अभियान गलकोटमा तीव्ररुपमा सञ्चालन थालिएको बताउँदै सचेतनामूलक कार्यक्रमलाई थप तीव्रता दिइने उल्लेख गरे । 

गलकोट नगर अस्पतालमा दैनिक २५ जनासम्म उच्च ज्वरोका बिरामी आउने गरेका नगर अस्पतालका प्रमुख डा राजेश पौडेलले जानकारी दिए। अस्पताल आएकामध्ये करिब ३० प्रतिशतमा डेङ्गी र स्क्रब टाइफस पुष्टि हुने गरेको छ । 

 लामखुट्टेको लार्भा नष्ट गर्न पानीको खाल्डा पुर्ने, पानी जम्ने र लामखुट्टे उत्पादन हुने क्षेत्रमा सरसफाइ गर्ने, सुत्दा नियमित झुलको प्रयोग गर्ने, घर बाहिर, खेतबारीमा काम गर्दा पूरै शरीर छोपिने किसिमका लुगा लगाउनेलगायत कुरामा विशेष ध्यान अपनाउनुपर्ने स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।


यसको समयमै उपचार नगरेमा वा जीर्ण बन्दै गएको खण्डमा कलेजो, मिर्गौला, फोक्सो, मुटुलगायत अन्य अङ्गमा सङ्क्रमण फैलिई बिरामीको मृत्युसमेत हुने डा. पौडेलले बताएका छन् । उनले यो रोगबाट बच्ने प्रभावकारी माध्यम भनेको सरसफाइमा विशेष ध्यान दिने र सावधानी अपनाउनुपर्ने बताए । 
रासस 

प्रतिक्रिया