काभा महिला भलिबलमा आज नेपालले भारतको सामना गर्दै
काठमाडौं । सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा) महिला भलिबल नेसन्स लिगमा आज नेपालले भारतको सामना गर्दै छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने खेल अपरान्ह तीन बजे सुरु हुनेछ।
लिग चरणमा नेपालको यो दोस्रो खेल हो भने भारत लगातार तेस्रो दिन कोर्टमा उत्रन लागेको हो । भारतले शुक्रबार माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरी नेपालसँगको खेललाई तयारी पूरा गरेको थियो । भारतले माल्दिभ्सको चुनौती सजिलै पन्छाउने क्रममा २५–६, २५–११, २५–१० को नतिजा निकालेको थियो । भारतले पहिलो दिन इरानमाथि २५–२०, २५–१८, १९–२५, २५–११ ले सेट जितेको थियो ।
यस्तै, नेपालले पहिलो दिन श्रीलंकालाई २५–१९, २५–१८, २५–१९ ले पराजित गरी सुखद सुरुआत लिएको थियो । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा नेपाल र भारतबीचको खेलले सन् २०१९ मा भएको १३ औं दक्षिण एसियाली खेलकुदको फाइनल स्मरण गराउने छ । पहिलो दुई सेट जितेर स्वर्ण पदक नजिक पुगेको नेपाल अन्तिममा पराजित भएको थियो ।
राउन्ड रोबिन लिग सहभागी ५ राष्ट्र प्रतिस्पर्धा गरेपछि शीर्ष चार टोली सेमिफाइनल पुग्ने प्रावधान छ ।
प्रतिक्रिया