प्रधानमन्त्री ओलीले दिन खोजेको सकारात्मक सन्देश

रामेश्वर सापकोटा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू स्वस्थ रहेसम्म पार्टीका बैठकहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नराख्ने घोषणा गरेका  छन् ।

मनोहरा खोलामा आएको  बाढी  ललितपुरको च्यासलस्थित एमाले  पार्टी कार्यालयमा पसेपछि एमालेको बिहिबार सचिवालय बैठक सिंहदरवार बाहिर रहेको होटल बसेरामा बसेको थियो । बिगतमा ओली प्रधानमन्त्री हुँदा पार्टीका बैठकहरु प्रधानमन्त्रीको सरकारी निवासमा राखेका कारण आलोचना खेपेका थिए । तर यसपटक भने ओलीले पार्टी बैठक प्रधानमन्त्री निवासमा नराख्ने घोषणा गरेर राम्रो शन्देश दिन खोजेका छन् । तर आप्mनो बोलीमा ओली कतिको अडिग रहलान् त्यो भने भविष्यमा देखिने नै छ । उनी बिरामी परे भने छुट्टै कुरा हो । 
बिगतमा ओली मात्रै होइन अन्य प्रधानमन्त्रीहरुले सरकारी निवास र आफनो नीजि निवासलाई शक्ति केन्द्रको रुपमा स्थापित गर्न खोजेका थिए । जहाँ पार्टीको बैठक बोलाउने कार्यकर्ता भेला गर्ने गरेका थिए । पंचायत कालमा सरकारी निवासमा पार्टीको बैठक राख्ने चलन थिएन । २०४६ पछि बनेका प्रधानमन्त्रीले भने सरकारी निवासको दुरुपयोग गर्न थाले ।

यसले पार्टीका बैठक र प्रशिक्षण सरकारी निवासमा राखेको र राज्यकोषको रकम खर्च गर्ने बिकृति सिर्जना गरेको भन्दै आलोचना हुन थालेको थियो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०६३ पछिको आफ्ना कार्यकालको धेरै समय बालुवाटारबाटै काम गरेका थिए। अस्वस्थताका कारण कोइरालाले बालुवाटारमै सरकारी र पार्टीका बैठकहरु सञ्चालन गरेका थिए । सरकारी बैठक बालुवाटारमा राख्दा फाइल बोकेर सिंहदरवारबाट बालुवाटार जानुपर्ने,फाइल र कागजाज छुटेमा फेरी सिंहदरवार कुद्नुपर्ने जस्ता झण्झट ब्यहोर्नु पर्ने बाध्यता कर्मचारीमा थियो । 

देशमा पछिल्ला पटक प्रधानमन्त्री बनेका ओली मात्रै होइन शेरबहादुर देउवा,पुष्पकमल दाहाल प्रचण्डले पनि  पार्टी बैठकहरु बालुवाटारमा राख्ने गरेका थिए । त्यसको कतिपय पार्टीका नेताहरुबाट बिरोध हुने गरेको थियो ।कांग्रेस पार्टीभित्रैबाट बिरोध हुन थालेपछि देउवाले पछिल्लो पटक प्रधानमन्त्री हुँदा सरकारी निवास बालुवाटारमा बैठक नराखेर पार्टी कार्यालयमै बैठक राख्ने बताएका थिए । तर देउवाले आफनो नीजि निवासमा भने बैठक राख्न छोडेका छैनन् । उता माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रधानमन्त्री हुँदा पनि धेरै जसो बैठकहरु सरकारी निवासमै राख्ने गरेका थिए । तर आलोचना हुन थालेपछि दाहालले पार्टीको बैठक पार्टी कार्यालयमै राख्न थालेका थिए । 
प्रधानमन्त्री निवासलाई पार्टी प्यालेसजस्तो बनाइएको भन्दै  आलोचना हुँदै आएको थियो ।

प्रधानमन्त्री कार्यालयका अधिकारीहरूका अनुसार  सरकारी काम बालुवाटारबाटै गर्दा निर्णयपुस्तिकाहरू बोकेर ओहोरदोहोर गर्नुपर्ने झन्झट भने कर्मचारीहरूलाई हुने गरेको थियो । अब सरकारी बैठक पनि  सिंहदरवारबाटै हुनुपर्छ । बिगतका कमी कमजोरी सच्याएर अघि बढ्न खोजे र आफ्नो अडानमा अडिग रहे ओलीले दिएको यो शन्देश निकै सकारात्मक हुनेछ र अरुले पनि ग्रहण गर्नेछन । ओलीले यो पटक शुरुवाती सन्देश भने राम्रो दिएका छन् ।

प्रतिक्रिया