बालविवाह रोक्न सक्रिय बन्दै बाल क्लब

दाङ । दाङको गढवा गाउँपालिका–५ स्थित श्री माध्यमिक विद्यालय चैनपुर विद्यालयमा अध्ययनरत छात्रछात्राहरु बाल क्लबमा आबद्ध भएपछि सरसफाइसँगै सचेतनामूलक कार्यक्रममा सक्रिय देखिएका छन् ।

बाल क्लबका सदस्यहरुले बालअधिकारका विषयमा जानकारी लिँदै समुदायमा बालविवाह विरुद्धको अभियानलाई सशक्त बनाएका छन् ।

 मुक्त कम्लरी विकास मञ्चले यसअघि देखि बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्दै आएको थियो । विसं २०७९ साउन २४ गते विद्यालयमा बाल क्लब गठन भएपछि मञ्चको उक्त कार्यक्रमलाई बाल क्लबको अभियानले थप सहायता प्रदान गरेको छ ।  

गढवा गाउँपालिका–५ बाँकेकी सरस्वती परियार विद्यालयमा गठित बाल क्लबको अध्यक्ष छन् ।  उनी बाल क्लबमा आबद्ध भएपछि सिकेको जीवन उपयोगी सीपलाई अरू साथीहरुमाझ पुयाउने काम गर्दै आउकी छन् । 

बालविवाह, प्रजनन स्वास्थ्य, नेतृत्व विकासका बारेमा जान्ने बुझ्ने कामलाई  विद्यालयमा अध्ययनरत अन्य किशोरकिशोरीलाई सिकाउने गरेको उनले बताइनन् । मनिषा चौधरी पनि सोही विद्यालयको कक्षा १० मा अध्ययनरत छिन् । उनी यस क्लबको कोषाध्यक्ष छिन् ।  बाल क्लबमा आबद्ध हुनुभन्दा पहिले उनलाई सबै सामु आफ्नो नाम भन्न डर लाग्थ्यो । अहिले सबैसामु ढुक्कसँग बोल्न र आफ्ना कुरा राख्नसक्ने भएकी छिन् । 

बाल क्लबले किशोरकिशोरीमा आउने शारीरिक परिवर्तन र त्यसले पार्ने असरका बारेका खुलेर एकआपसमा कुरा गर्ने गरेको उनले बताइनन् । साथीलाई कुनै समस्या आई लागेमा सहयोग गर्ने गरेको चौधरीको भनाइ छ । 

२५ सदस्य रहेको बाल क्लबले गरिरहेको कामबाट धेरै खालका सकारात्मक परिवर्तन हुँदै गएको मुक्त कम्लरी विकास मञ्चको बालविवाह न्यूनीकरण कार्यक्रम ‘फिल्ड मोटिभेटर’ निमा चौधरीले बताइनन् ।  विद्यालय पढ्दै गरेका कतिपय किशोरकिशोरीले बालविवाह गर्ने गरेकाले यसको रोकथामका लागि बाल क्लबका माध्यमबाट निगरानी बढाएको छ ।  

मुक्त कम्लरी विकास मञ्चका फिल्ड संयोजक ज्ञानु थापाले किशोर अवस्थामा उनीहरुमा आउने परिवर्तनसँगै उनीमा रहेको उत्सुकता मेटाउन बाल क्लबले सहयोगी भूमिका खेलेको बताइन् ।  

 विद्यालयमा बाल क्लब गठन भएपछि विद्यार्थीहरुको पढाइलेखाइका साथै अतिरिक्त क्रियाकलापमा पनि सहभागिता बढेको उनको भनाइ छ ।

रासस 

प्रतिक्रिया