आज गठामङ्गल पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष श्रावण कृष्ण चतु्दर्शीका दिन मनाइने गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व आज राजधानीको भित्री सहरमा मनाइँदैछ ।

चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गठामङ्गल अर्थात घण्टाकर्ण पर्व सांस्कृतिक परम्पराअनुसार विशेषगरी राजधानीको भित्री भागका नेवार समुदायले मनाउँछन् । परापूर्वकालदेखि मनाउँदै आएको यस पर्वमा गठामङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप बिहानै हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षसको स्वरूप बनाई दोबाटो र चौबाटोमा उभ्याइने चलन छ । छ्वालीबाट बनाई दोबाटो र चौबाटोमा दिनभर राखिने गठामङ्गल बेलुकी भने खेतको बीचमा लगेर बाल्दा धानमा कीरा नलाग्ने विश्वास गरिन्छ ।

स्थान एवं कुल परम्पराअनुसार कतै भने गठामङ्गललाई खोला वा नदी किनारमा लगी जलाइन्छ । यसैगरी आज बिहानै स्नान, पूजापाठ गरी घर–आँगन सफा गरिने, केटाकेटीले बाटामा डोरी टाँगेर पैसा जगात माग्ने र राति राँको बाली सो राक्षसको प्रतीक घिसार्दै जलाउने चलन छ ।  गठामङ्गललाई सत्व, रज र तम गुण मानेर भैरवका प्रतीकका रूपमा लिइने र नवविवाहित स्त्री–पुरुषले दर्शन गर्नुपर्ने चलन छ । यस्तो परम्परा अहिले पनि राजधानीको तीनै सहर काठमाडौँ, ललितपुर र भक्तपुरका भित्री भागमा छ । यसो गर्नाले नवविवाहित जोडीको जीवनमा बाध्य बाधा, आन्तरिक बाधा एवं शत्रुबाट रक्षा प्राप्त हुन्छ । आर्थिक एवं भौतिक उन्नतिका लागि पनि घण्टाकर्णको पूजा आराधनालाई राजधानीको भित्री भागमा बस्नेले महत्वपूर्ण पर्वका रुपमा मान्दै आएका छन् । घण्टाकर्णको अवसरमा आज बिहानैदेखि भक्तपुरका विभिन्न शक्तिपीठमा भक्तजनको घुइँचो लागेको छ ।

यस पर्वलाई नेवार समुदायले ‘सिनाज्या ब्यंकेगु’ अर्थात् रोपाइँ सकिएको पर्वको रूपमा मनाउने गर्दछन् । आजको दिन नेवार समुदायले बिहानै घरमा लिपपोत गर्नुका साथै शुद्ध भएर विभिन्न शक्तिपीठको दर्शन गरी त्यहाँको जल ल्याएर घरघरमा छर्कने प्रचलन रहँदै आएकाले दर्शनार्थीको भीड लागेको हो । नेवारी समुदायमा आजदेखि परम्परागत नाच तथा बाजागाजा सिकाउन शुरु गरिनुका साथै गाइजात्रामा प्रदर्शन गरिने विभिन्न भैरव नाच तथा व्यंग्यले भरिपूर्ण नाटकको प्रशिक्षणसमेत दिइन्छ ।। 
 

प्रतिक्रिया