प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण थाइल्यान्डबाट, लगत्तै अमेरिकाको भ्रमण

काठमाडौ । साउन ३१ गते प्रधानमन्त्री पदमा शपथ लिएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको पहिलो विदेश भ्रमण थाइल्यान्डबाट शुरु हुने तयारी भएको छ ।  प्रधानमन्त्री ओलीले आउँदो सेप्टेम्बरमा थाइल्यान्ड र अमेरिकाको भ्रमण गर्ने भएका छन् । उनले पहिला थाइल्यान्ड र त्यसपछि अमेरिकाको भ्रमण गर्ने भएका छन् ।

थाइल्यान्डले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका निम्ति बंगालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन सेप्टेम्बर ४ मा बैंककमा आयोजना गर्दै छ । उक्त सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली थाइल्यान्ड जान लागेका हुन् ।बिम्स्टेकमा नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्यान्ड गरी सात राष्ट्र सदस्य छन् । शिखर सम्मेलन हुनका निम्ति सबै सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुख अनिवार्य उपस्थित हुनुपर्ने प्रावधान छ ।

सेप्टेम्बरमा नै प्रधानमन्त्री ओलीले अमेरिकाको भ्रमण गर्ने तयारी पनि परराष्ट्रले गरिरहेको छ । प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क जान लागेका हुन् ।सेप्टेम्बर २४ देखि ३० सम्म राष्ट्रसंघको महासभालाई सदस्य राष्ट्रका राष्ट्रध्यक्ष एवं सरकार प्रमुखले सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले सेप्टेम्बर २६ मा राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । 

प्रतिक्रिया