भारतको हिमाचलमा  बाढीमा परी ५० जना बेपत्ता, खोजी तथा उद्दार जारी

एजेन्सी । भारतको हिमाचल प्रदेशमा छोटो अवधिको अत्यधिक बर्षापछि आएको बाढीका कारण शिमला, मन्डी र कुल्लु जिल्लामा ५० जनाभन्दा बढी बेपत्ता भएका छन् । हिमाचलका मुख्यमन्त्री सुखविन्दर सिंह सुक्कुले उद्धार र राहत कार्य जारी रहेको बताएका छन । शिमलाको रामपुर तहसील, मन्डी जिल्लाको पधार तहसील र कुल्लुको जाओ, निर्मल गाउँमा बर्षाले निम्त्याएको विपद्पछि उद्धारकर्मी परिचालन गरिएको छ । यसैगरी हिमाचल प्रदेशका राजस्व मन्त्री जगत सिंह नेगीले शिमलाको सामेज क्षेत्रमा ३६  जना र मन्डी जिल्लाको टिक्केन क्षेत्रमा आठ जना बेपत्ता भएको र दुई जनाको शव फेला परेको बताएका छन । शिमला जिल्लाको सामेज क्षेत्रमा ३६ जना, मन्डीको टिक्केन क्षेत्रमा आठ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । कुल्लु क्षेत्रमा मलानाको विद्युत परियोजनाको ब्यारेज क्षतिग्रस्त हुँदा मानिसहरू पनि फसेको र सडक सञ्जाल अवरुद्ध भएको छ । हिमाचल प्रदेशमा भएको आकस्मिक र भारी बर्षाले पुगेको  क्षति र जनजीवन प्रभावित भएपछि सङ्घीय स्वास्थ्यमन्त्री जगत प्रकाश नड्डाले केन्द्र सरकारबाट सहयोगको आश्वासन दिएका छन । यसैबीच, मन्डी जिल्ला प्रशासनले घटनाबारे सचेत गराउँदै बासिन्दालाई ब्यास नदीको छेउछाउमा नजान चेतावनी जारी गरेको छ ।

प्रतिक्रिया