प्रधानमन्त्री ओलीले रोकेको त्रिविको नीति तथा कार्यक्रम विरुद्ध संयुक्त विद्यार्थी सङ्गठनको आपत्ति

प्रधानमन्त्री केपी शर्मा ओलीले उपकुलपति प्रा.डा. केदारजंग बराललाई विश्वविद्यालयको नीति तथा कार्यक्रम पेस गर्न नदिएको भन्दै संयुक्त विद्यार्थी सङ्गठनले आपत्ति जनाएका छन् । अखिल क्रान्तिकारी, अनेरास्ववियु, नेपाल समाजवादी विद्यार्थी युनियन, अखिल समाजवादी, समाजवादी विद्यार्थी युनियन नेपाल र अखिल छैटौँले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन् । 

त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले यसरी नीति तथा कार्यक्रम रोक्दा प्रतिस्पर्धाबाट चुनिएको नेतृत्वले अघि बढाएका त्रिवि सुधारका कामहरूमा बाधा उत्पन्न हुने र विद्यार्थी आन्दोलनले उठाउँदै आएका महत्त्वपूर्ण मुद्दाहरू ओझेलमा पर्ने देखिएको उनीहरूको आरोप छ । 
उपकुलपतिले सरकारलाई पेस गरेको सोचपत्र र कार्ययोजना सहितको नीति तथा कार्यक्रम प्रधानमन्त्री सम्बद्ध पार्टीका कर्मचारी सङ्गठनको षड्यन्त्रमा विना कारण अघि बढ्न नदिनु भित्र लुकेको कुत्सित मनसाय देखिएको विद्यार्थी सङ्गठनहरूले जनाएका छन् । 

लाखौँ विद्यार्थी र देशको भविष्य जोडिएका त्रिवि लगायत सबै विश्वविद्यालयहरुलाई स्वतन्त्र रुपमा काम गर्न दिन, नांङ्गो राजनीतिक हस्तक्षेप बन्द गर्न र स्वार्थ समूहहरुको प्रभावमा नपर्न सरकार समक्ष माग गर्दछौँ । साथै विश्वविद्यालयहरूमा हुने नाङ्गो राजनीतिक हस्तक्षेप विरुद्ध संयुक्त विद्यार्थी सङ्गठनहरू सङ्घर्षमा उत्रिने पनि स्पष्ट पार्दछौँ, विज्ञप्तिमा भनिएको छ । 

 

प्रतिक्रिया