आवश्यकता भन्दा बढी किमो दिएर बिरामीको मृत्यु भएपछि   क्यान्सर अस्पतालका दुई नर्स निलम्बित


चितवन ।  बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत एक बिरामीको मृत्यु भएपछि दुईजना नर्सलाई निलम्बन गरिएको छ । 
 बिरामीको किमो (क्यान्सर कोषहरुलाई नष्ट गर्न प्रयोग गरिने औषधि) को मात्रा बढी दिएर मृत्यु भएपछि दुईजना नर्सलाई निलम्बन गरिएको हो । लमजुङको दोर्दीका ५० वर्षीय भक्तराज गुरुङको  मृत्यु भएपछि दुईजना नर्सलाई निलम्बन र  दुई जना चिकित्सकसहित २३ जनासँग स्पष्टिकरण माग गरी सचेत गराइएको  अस्पतालले जनाएको छ । 

    अस्पतालमा उपचारका लागि आएका गुरुङलाई दिनुपर्ने भन्दा दश गुणा बढी किमोको मात्रा दिएपछि मृत्यु भएको थियो । बिरामीलाई तीन दशमलव चार मिलिग्राम किमो दिनुपर्नेमा ३४ मिलिग्राम दिएपछि बिरामीको मृत्यु भएको देखिएको अस्पतालका सूचना अधिकारी गृहीनारायण महतोले जानकारी दिए । 

     उपचारका लागि अस्पताल आएका गुरुङको खुट्टामा छालाको क्यान्सर भएपछि  उपचार भइरहेको थियो । उपचारका क्रममा आवश्यकभन्दा बढी किमो दिएपछि गुरुङको मृत्यु भएको महतोले बताए। महतोका  अनुसार मेडिकल वार्डमा तीन पटकसम्म सोही मात्राको किमो दिएपछि बिरामीको शरीरले उक्त मात्रा धान्न नसकेर गत असार १३ गते राति मृत्यु भएको थियो ।
बिरामीको उपचारमा लापरबाही भएको देखिएपछि अस्पताल प्रशासनले दुई चिकित्सकसहित २३ जना नर्ससँग स्पष्टिकरण मागेको छ । सूचना अधिकारी महतोका अनुसार नर्स प्रभा तामाङ् र आकृति श्रेष्ठलाई निलम्बन गरिएको हो ।

    अस्पतालले उपनिर्देशक डा उमेश नेपाल, मेडिकल अङ्कोलोजी विभागका प्रमुख डा गुरुशरण शाह र नर्सिङ् प्रमुख अनिता देवकोटा रहेको छानबिन समिति गठन गरेको थियो । समितिले यही साउन ३ गते प्रतिवेदन बुझाएको महतोले जानकारी दिए ।  

    अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले अध्ययन टोलीले आफ्नो प्रतिवेदन दिएपछि सोही आधारमा दुईजनालाई निलम्बन र २३ जनालाई स्पष्टिकरण सोधिएको बताए । 

प्रतिक्रिया