राप्रपाको  जिल्ला अध्यक्षहरूको भेला आजवाट सुरु

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आजवाट जिल्ला अध्यक्षहरूको भेला सुरु भएको छ । दुई दिनसम्म काठमाडौंको धुम्बाराहीमा जिल्ला अध्यक्षहरुको भेला हुन लागेको हो । राप्रपाले पार्टीको समग्र सांगठनिक अवस्था, विगतका निर्वाचनका कमी कमजोरीको समीक्षा, पार्टीले लिएका नीति र यसले पार्टी पंक्ति र जनसमुदायमा पारेको प्रभावको विश्लेषण गर्दै आगामी रणनीति तय गर्नका लागि जिल्ला अध्यक्षहरूको भेला बोलाएको जनाएको छ । भेलाको पहिलो दिन अध्यक्ष राजेन्द्र  लिङ्देनले पार्टीको नीति, विचार, सिद्धान्त लगायत रणनीति र आगामी कार्ययोजनाका बारे जिल्ला अध्यक्षहरुलाई जानकारी गराउने बताइएको छ । भेलामा ७७ वटै जिल्लाका अध्यक्षहरुले आफ्नो जिल्लाको सांगठानिक प्रतिवेदन पेस गर्नेछन् । पूर्वअध्यक्ष पशुपति शमसेर जबरा, निर्देशन समितिका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनी र नेताहरुले पार्टी संगठनका विविध पक्षमा जिल्ला अध्यक्षहरुसंग सामूहिक छलफल गर्ने कार्यसूचि पनि छ । त्यस्तै आगामी वैशाखसम्ममा सबै स्थानीय तहको अधिवेशन सक्ने लक्ष्य लिएको अवस्थामा ०८४ मा हुने तीन तहकै निर्वाचनको तयारीमा अहिलेदेखि कस्तो रणनीति तय गर्ने भन्ने विषयमा पनि भेलामा छलफल हुने बताइएको छ । 

प्रतिक्रिया