बाढीका कारण बल्खु तरकारी बजारमा व्यापक आर्थिक क्षति

काठमाडौ । बागमती नदीमा आएको बाढीबाट काठमाडौंको बल्खुस्थित तरकारी बजार डुब्दा व्यापक आर्थिक क्षति भएको छ । ४ सय ५० ओटा स्टल रहेको बजार पूर्ण रूपमा डुबानमा परेको सञ्चालक र सम्बद्ध व्यवसायीको भनाइ छ ।  काठमाडौं उपत्यकाको करीब ३० प्रतिशत तरकारी माग धान्ने अनुमान गरिएको बल्खु बजारमा मंगलवार राति उर्लिएको बागमतीको बाढी पसेको थियो । एकजना व्यापारीको २५ हजारदेखि डेढ लाख रुपैयाँसम्मको तरकारी बाढीवाट नष्ट भएको छ । बाढीका कारण आलु, प्याज, काँक्रो, परवर, भिन्डी, गोलभेडालगायत तरकारी र दाल, चाम, गेडागुडी, खानेतेल, फर्निचर, जनेरेटर र केही तरकारी बोक्ने गाडीमा समेत क्षति पुगेको हो । तरकारी बोक्ने दुईओटा ठूला ट्रक र साना तीनओटा गाडी बाढीमा डुब्दा इन्जिनमा क्षति पुगेको बताइएको छ । बाढीकै कारण कुलेश्वरस्थित फलफूल बजारमा करीब ६५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । पकाउन राखिएका फलफूल सबै बाढीले बगाएको नेपाल फलफूल थोक व्यवसायी संघले जनाएको छ ।  पकाउनका लागि भुइँमा राखिएका करीब १० गाडी केरा बाढीले बगाएको हो ।संघका अनुसार कुलेश्वरको फलफूल बजारमा २५० व्यवसायी छन् । बाढीले बजारमा क्षति पुग्दा बुधवार बजारको ९० प्रतिशत कारोबार घटेको छ ।।

प्रतिक्रिया