कसैलाई फसाउन वा जोगाउन प्रहरी प्रशासन प्रयोग हुदैन: गृहमन्त्री लेखक

कारागारको भौतिक संरचना थप गर्न आवश्यक

काठमाडौ । गृहमन्त्री रमेश लेखकले कसैलाई फसाउन वा जोगाउनका लागि प्रहरी प्रशासन प्रयोग नहुने प्रतिबद्धता जनाएका छन्। बुधबार संसदको राज्यव्यवस्था तथा सुशासन समितिकामा उपस्थित भएर मन्त्री लखेकले प्रहरीको दुरुपयोग आफूबाट नहुने बताएका हुन्। 
उनले प्रहरी संगठन र प्रशासनलाई दुरुपयोग भने हुन नदिने प्रतिबद्धता जनाए ।समितिमा सांसदहरुले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) श्यामलाल ज्ञवालीमाथि छानबिन गर्न समिति बनेको विषय उठाउँदै प्रहरी प्रशासनको निष्पक्षतामाथि प्रश्न गरेपछि लेखकले दुरुपयोग नहुने बताएका हुन्।

गृहमन्त्री लेखकले प्रहरीको सरुवालाई सरुवाकै रुपमा बुझ्न आग्रह गरेका छन् ।उनले सरुवा नियमित प्रक्रिया भएकाले त्यसलाई राजनीतिक रंग दिन आवश्यक नभएको जिकिर गरे।  प्रहरीको लेखापालको सरुवा मापदण्डका आधारमा भएको उनको दाबी थियो।

त्यसैक्रममा गृहमन्त्री  लेखकले मुलुकभरका कारागारमा कैदीबन्दीको सङ्ख्या क्षमताभन्दा बढी रहेकाले कारागारको नयाँ भवन निर्माण र भौतिक संरचना थप्नु आवश्यक भएको पनि बताएका छन् ।लेखकले कारागारको भौतिक संरचना थप गर्नुपर्ने, कैदीबन्दीको स्वास्थ्य उपचारदेखि सिदा रकम वृद्धिलगायत समग्र विषय व्यवस्थापनका लागि आर्थिक व्यवस्थापन जरुरी रहेको उल्लेख गरे ।

 

प्रतिक्रिया