यो सरकार स्टन्टवाजी नभई काम गर्न आएको परराष्ट्र मन्त्री आरजु राणाको दाबी

काठमाडौं ।  परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले वर्तमान सरकार हल्ला अथवा प्रचारबाजी गर्नका लागि नभएर काम गर्नका लागि आएको दाबी गरेकी छिन् । 

बुधबार राहादानी र कन्सुलर सेवा विभागमा सेवा प्रवाहको अवस्थाको निरीक्षण भ्रमणपछि संचारकर्मीहरुसँग प्रतिक्रिया दिँदै राणाले  सरकारले आफ्नो प्रचारबाजी नगरेर काम गर्ने दाबी गरिन् ।  यो सरकार कुनै सस्तो लोकप्रियताका लागि र हल्ला गर्नका लागि नभएर काम गर्न आएको परराष्ट्रमन्त्री राणाको भनाई छ । 

नेपाली कांग्रेस र नेकपा एमाले देशमा ठूलो राजनीतिक परिवर्तनका साक्षी र सहयात्री रहेका तथा दुवै दलका नेताहरुले धेरै कुरा बुझेर र देशको आवश्यकता हेरेर नै सहकार्य गरेकाले यो सरकारको स्थायित्वका बारेमा प्रश्न नगर्न पनि मन्त्री डा राणाको आग्रह थियो । राणाले भनिन् “नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी ओलीले धेरै कुरा बिचार गरेर मुलुकलाई निकास दिने उद्देश्यका साथ यो सरकार निर्माणका लागि लाग्नुभएको हो, त्यसैले यो सरकारले देशका लागि केही गरेर देखाउनेछ ।”

एक प्रश्नको जवाफमा मन्त्री डा. राणाले नयाँ बनेको सत्तासमीकरण कुनै एक व्यक्तिका कारणले नभएर मुलुकका दुई ठूला दलले आवश्यकताको बोध गरेर निर्माण भएको स्पष्ट पारिन् ।  मन्त्री डा. राणाले कहीँ कतै प्रमाण या उजुरी नहुँदा नहुँदै पनि आफ्नो नाममा विभिन्न काण्ड खडा गरेर जोड्ने गरिएकामा आपत्ति जनाइन् ।  

टीकापुर जग्गा प्रकरणमा आफ्नो नाम जोडिएको विषयमा मन्त्री डा राणाले  भनिन् “म यहाँहरुलाई अनुरोध गर्छु कि यो सूचनाको हक भएको देश हो, यहाँहरु फिल्डमै जानुस् र के हो भन्ने तथ्य आफैँ थाहा पाउनुहोस्, कहीँ कतै मेरो गल्ती देख्नुभएछ भने म यहाँहरुसँग त्यतिबेलै कुरा गरौँला ।

मन्त्री  राणाले राहदानी र कन्सुलर सेवा प्रवाहको अध्ययन गरी यी दुवै सेवा नेपाली नागरिकका लागि अति आवश्यक र परराष्ट्रले दिनुपर्ने सबैभन्दा महत्वपूर्ण र संवेदनशील सेवा रहेकाले नेपाली नागरिकलाई केन्द्रमा राखेर काम गर्न सबै कर्मचारीलाई निर्देशन दिइन् । 

प्रतिक्रिया