राष्ट्रिय सुरक्षा सल्लाहकार बैरागीले दिए राजीनामा

काठमाडौ । राष्ट्रिय सुरक्षा परिषद्का राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीले पदबाट राजीनामा दिएका छन्। पूर्व मुख्यसचिव वैरागीले साउन ९ गतेबाटै लागू हुने गरी राजीनामा दिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

वैकुण्ठ अर्याललाई मुख्यसचिव बनाउने भएपछि बैरागीलाई २०८० जेठ ३२ गते राष्ट्रिय सुरक्षा परिषदमा नयाँ पद सिर्जना गरेर राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरिएको थियो। बैरागीलाई मन्त्री सरहको सेवा सुविधा दिने गरी राष्ट्रिय सुरक्षा सल्लाहकार बनाइएको थियो। वैरागीले मुख्य सचिवको कार्यकाल केही महिना बाँकी छँदा बैकुठ अर्याललाई मुख्यसचिव बनाउने बाटो खोल्दै राजीनामा दिएका थिए ।

भारतको राजदूत बन्न प्रयास गरिरहेका बैरागीले राजदूत बन्नकै लागि राजीनामा दिएको स्रोतले जनाएको छ । तर, सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राजदूत सिफारिस गर्दा उनको नाम परेन । सरकारले भारतका लागि वर्तमान राजदूत डा. शंकर शर्मालाई नै निरन्तरता दिएको छ । प्रचण्ड नेतृत्वको अघिल्लो सरकारले शर्मालाई भारतबाट फिर्ता बोलाउने निर्णय गरेको थियो । तर सत्ता समीकणर फेरिएपछि नयाँ सरकारले शर्मालाई थमौती गरेर राजदूतमा निरन्तरता दिएको हो । राष्ट्रिय सुरक्षा परिषद्को अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था छ। 


मुख्य सचिवमा अर्याल र राष्ट्रिय सुरक्षा सल्लाहकारमा वैरागीको नियुक्ति एकै दिन भएको थियो । पछिल्लो पटक भ्रष्टाचारको मुद्दा दायर भएपछि मुख्यसचिव अर्याल निलम्बनमा परेका छन् ।
 

प्रतिक्रिया