भोजपुरमा बाढीले बगाएका एक मजदुरको शव फेला


भोजपुर ।  बाढीले बगाएर बेपत्ता भएका इखुवा जलविद्युत् आयोजनामा कार्यरत एक मजदुरको शव फेला परेको छ । 

भोजपुरको उत्तरी क्षेत्र साल्पासिलिछो गाउँपालिका–४ गोथे बजारमा निर्माणाधीन इखुवा खोलाको इखुवा जलविद्युत् आयोजनामा कार्यरत मजदुर बर्दियाको बारा बर्दिया गाउँपालिका–३ का ३० वर्षीय रमेश थारुको शव आज अरुण नदीको सतिघाटमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक युवराज तिम्सिनाले जानकारी दिए । इखुवा खोलाको बाढीले मङ्गलबार इखुवा जलविद्युत् आयोजनामा कार्यरत दुई मजदुरलाई बगाएको थियो । थारुसँगै बगेका २६ वर्षीय श्यामकुमार थारु हालसम्म बेपत्ता छन् । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनजाएको  ।  यस्तै बाढीमा परेका २६ वर्षीय रामकिसन थारुको भने स्थानीयले उद्धार गरेका थिए ।

यसैबीच मङ्गलवार राति आएको बाढीले षडानन्द नगरपालिका–२ मा दुईवटा घर बगाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपक श्रेष्ठका अनुसार स्थानीय चित्रबहादुर दर्जी र निर्मला राईको घर बाढीले बगाएको हो । 

बाढीले बगाएका चित्रकी श्रीमती ६५ वर्षीया चन्दकुमारी दर्जीलाई स्थानीयवासीले उद्धार गरेका थिए । घर बगाएपछि ६ जनाको परिवार बिचल्लीमा परेको छ । 

प्रतिक्रिया