मिथिलामा मधुश्रावणी पर्वको रौनक


धनुषा । साउन तराइको जनकपुरधामसहित सम्पूर्ण मिथिला क्षेत्रमा अहिले मधुश्रावणी पर्वकोे रौनक देखिएको छ । 

यस पर्वबाट नवविवाहिता महिलाले वैवाहिक जीवन जिउने पाठ सिक्ने गर्दछन् । मिथिलाञ्चलका नवविवाहिता महिलाहरुले गत बिहीबारबाट मधुश्रावणी व्रत सुरु गरेका हुन् ।  साउन महिनाको मौना पञ्चमी तिथिदेखि सुरु हुने मधुश्रावणी व्रत १५ दिनसम्म मनाइने गरिन्छ । देव, ब्राह्मण, कर्ण तथा सोनार जातको नवविवाहिता महिला सम्मिलित रहेको यसपर्व अहिले सबै जातजातिका नवविवाहिताले अखण्ड शौभाग्यवती, पतिको दीर्घायुको तथा परिवारको सुख शान्तिको कामना गर्दै  मनाउने गरेको स्थानीय ज्योतिदेवी झाले बताइन् ।

मिथिला संस्कार र परम्पराअनुसार नवविवाहिता मैथिल महिलाका लागि ‘मधुश्रावणी’ महत्वपूर्ण पर्वमध्ये एक हो । यो व्रत श्रावण शुक्ल तृतीया तिथिसम्म मनाइन्छ । यो पर्व नवविवाहिता महिलाले माइतमा बसेर मनाउने गर्छन् । पर्वको एक दिन पहिले नवविवाहिता महिलाको घरबाट आएको नयाँ लुगा, नाग नागिन पूजा गर्न, फूल चढाउन र व्रतालु महिलालाई खानका लागि फल, चना, चामल गौर गढेर पठाउने चलन रहेको झाको भनाई छ । 

व्रतको अघिल्लो दिन व्रतालु महिला बिहानै नुहाइधुवाइ गरेपछि लसुन प्याज, माछा, मासु नून बारेर शुद्ध चोखो खान्छन् । त्यस दिनलाई मैथिली भाषामा नहाइ खाइ भन्ने चलन छ । व्रतभरि हरेक दिन नवविवाहिता महिलाले साथी सङ्गीसँग साँझको समयमा आफ्ना घर–आँगन तथा गाउँभरिका फूल र फूलको पात, दुबो, पान, बेलको पातलगायत तोडेर ल्याउने साँझमा ल्याएको फूल त्यसको भोलिपल्ट देवी देवतालगायत शिव पार्वतीको गीत, कथा सुनेर त्यही फूल माता गौरी तथा विषहाराको पूजामा चढाउने गर्छन् । 

मधुश्रावणी व्रतमा राजा दक्षका हरेक छोरीका बारेमा चर्चा गर्नुका साथै, भगवान शिवलगायत नागनागिनकोसमेत कथा सुन्ने चलन रहेको पण्डित लालबाबु झाको भनाई छ  ।  नवविवाहिता महिलाले सामाजिक सांस्कृतिक परम्परामा आधारित ‘मधुश्रावणी’ पर्व नव वैवाहिक जीवनको प्रवेशमा पहिलो वर्ष धुमधामसँग मनाउछन् । वर्षा ऋतुमा सर्पको भूमि (जमिन)मा आगमन हुने भएकोले उनीहरूको सम्मानका लागि नागनागिनको साथै शिवपार्वतीको पूजा गर्ने चलन रहेको मिथिला नगरपालिका– ६ की पुनम झाले बताइन। मधुश्रावणी व्रतको सुरु र अन्तिम दिनमा व्रतालुद्वारा समाज र परिवारका महिला सदस्यलाई अङ्कुरित चना, मुग प्रसादको रूपमा बाँड्ने परम्परा छ । 

मधुश्रावणी पर्वमा कतिपय कथा शिव–पार्वतीको वैवाहिक, रोमाञ्चक प्रसङ्ग एवं ठट्यौली भरिएका कारण नारी जीवनमा पतिप्रतिको स्नेह, सौहार्दतालाई प्रगाढ बनाउन प्रेरित गर्दछ भने सर्पकी आमा विसहरा र उनको वंशका बारेमा चर्चित कथाले नागको पूजा गर्ने भावनालाई अभिप्रेरित गर्ने जनविश्वास छ । साउनमा जो कसैले नाग देवताको पूजा गर्छन्, उसलाई सर्पबाट भय हुँदैन भन्ने धार्मिक विश्वास रहेको पाइन्छ । यसै कारणले मधुश्रावणी पर्वमा विषहराको विशेष पूजा गरिन्छ ।

प्रतिक्रिया