इजरायली आक्रमणमा मारिए हमासका वरिष्ठ नेता हानिया

एजेन्सी । हमासका राजनीतिक विभाग प्रमुख मुजाहिद इस्माइल हानियाको इजरायली आक्रमणका मृत्यु भएको छ ।  

 बुधबार नवनिर्वाचित इरानी प्रधानमन्त्रीको शपथग्रहण समारोहमा सहभागी भएको केही क्षणपछि हमासका राजनीतिक विभाग प्रमुख हानियाको इजरायली आक्रमणमा मृत्यु भएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् ।  

“हाम्रो अभियानको प्रमुख मुजाहिद इस्माइल हानिया नयाँ इरानी राष्ट्रपतिको शपथग्रहण समारोहमा भाग लिएपछि तेहरानस्थित उहाँको मुख्यालयमा भएको यहुदी समूहको आक्रमणमा मारिनुभएको छ”, हमासले एक विज्ञप्ति जारी नेता हानियाको मृत्युको पुष्टि गरेको छ । 

इरानको रिभोलुसनरी सुरक्षा गार्डले पनि तेहरानस्थित हानियाको निवासमा आक्रमण हुँदा उनीसहित एक अङ्गरक्षक मारिएको पुष्टि गरेको छ । 

“तेहरानमा हमास प्रमुख इस्माइल हानियाहको निवासमा आक्रमण हुँदा हमास नेता हानिया र उहाँका एक अङ्गरक्षकको मृत्यु भएको छ”, इस्लामिक रिभोलुसनरी गार्ड निकट समाचार संस्था सेपाहले उल्लेख गरेको छ । 
हानिया मङ्गलबारमात्रै  इरानी राष्ट्रपति मसूद पेजेस्कियनको शपथग्रहण समारोहमा भाग लिन इरानको राजधानी तेहरान पुगेका थिए । 
इजरायली सेनाले हानियाको मृत्युको सम्बन्धमा कुनै प्रतिक्रिया व्यक्त गरेको छैन ।
सन् २००६ मा प्यालेस्टिनी प्रधानमन्त्री बनेका हानिया सन् २०१७ मा खालिद मेशालको उत्तराधिकारीका रूपमा हमासको राजनीतिक विभागका प्रमुखको रुपमा निर्वाचित भएका थिए ।  

इजरायली कब्जाको बिरूद्ध पहिलो प्यालेस्टिनी विद्रोहीको रूपमा सन् १९८७ मा हमासको स्थापना भएदेखि नै उनी यो समूहमा सामेल भएका थिए।  

प्रतिक्रिया