उपत्यकाका नदीमा बाढीको रौद्ररुप, एक जनाको मृत्यु, कयौ स्थान डुवानमा
काठमाडौं । अविरल वर्षाले काठमाडौं उपत्यकाका नदी र खोलाहरुमा आएको बाढीले डुवानको समस्या निम्ताएको छ । बाग्मती र यसका सहायक नदीहरू हनुमन्ते, मनोहरा, धोवीखोला, विष्णुमती, नख्खु, बल्खुखोला लगायत नदी खोलामा बाढी आएको हो । नदी आसपासका कतिपय बस्तीमा बाढी पसेको छ । बाग्मती नदी किनारका शङ्खमुल पार्क, सुकुम्बासी बस्ती, श्रमिक कान्ति कजेल, ननस्टप बसपार्कमा बाग्मतीको बाढी पसेको छ । बाढीमै परेर बल्खु खोलामा एक जना मृत अवस्थामा भेटिएका छन् । मृत्यु हुनेमा बाँके घर भइ सुकुम्बासी वस्तीमा बस्ने ४५ वर्षीय राम सरुप महतो छन् । ललितपुरका ७ स्थान डुबानमा परेका छन । ललितपुरका विभिन्न स्थानबाट डुबानमा परेका २४ जनालाई उद्धार गरिएको छ ।जिल्ला प्रहरी परिसर, ललितपुरका अनुसार सुन्दरीघाटबाट ८ जना, युएन पार्कबाट दुई, बालकुमारी पुलबाट १ जना, महालक्ष्मी नगरपालिका– ७ स्थित चागाँथलीबाट ७ जना र सानेपा राम मन्दिरबाट ६ जनाको उद्धार गरिएको हो ।
ललितपुरको च्यासलमा रहेको एन्फाको फुटबल मैदानमा र नेकपा एमालेको केन्द्रीय कार्यालयमा बाढी पसेको छ । बल्खुमा तरकारी बजार र आसपासका क्षेत्र जलमग्न भएको छ । बागमतीको बाढीले बल्खु तरकारी अगाडि राखिएको दुईवटा ट्रकसमेत पल्टिएर डुबेको छ । यस्तै बल्खुदेखि शङ्खमुलसम्मको बाग्मती किनारको सडक क्षेत्र र सानेपाको राम मन्दिर क्षेत्रमा पनि बाढी पसेको छ । बल्खु तरकारी बजार, कुलेश्वर, बाफल, त्रिपुरेश्वर करिडोर, धोबीखोला करिडोर, कीर्तिपुर लागयतका क्षेत्रबाट प्रहरीले १५ जनालाई सुरक्षित स्थानमा सारेको छ । भक्तपुरको हनुमन्ते खोलामा आएको बाढीले जगाती, सल्लाघारी बाराहीस्थानका सयौं घर डुवानमा परेका छन । सो क्षेत्रमा तीन वटा स्कूलका साथै दुई अस्पतालमा पनि डुबानमा परेको बताइएको छ । भक्तपुरको पुरानो जगाती पुल नजिकको एक कपास उद्योग र चाँगुनारायण नगरपालिका–८ को एक फर्निचर उद्योगमा बाढीले क्षति पुर्याएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया