बागमतीका मुख्यमन्त्री लामाले पाए  विश्वासको मत

हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामा तामाङले प्रदेश सभामा विश्वासको मत प्राप्त गरेका छन् ।

प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री लामाले  विश्वासको मतसम्बन्धी राखेको प्रस्तावको पक्षमा उपस्थित एक सय तीन जना प्रदेशसभा सदस्यमध्ये ६४ मत परेको थियो । प्रस्तावको विपक्षमा ३५ र तटस्थमा तीन मत परेको सभामुख भूवनकुमार पाठकले जानकारी दिए ।

विश्वासको मतका पक्षमा सत्ता गठबन्धन दल नेपाली कांग्रेसका ३७ र नेकपा एमालेको २७ गरी जम्मा ६४ मत खसेको हो । यसैगरी विपक्षमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राप्रपाका प्रदेशसभा सदस्यले मतदान गरेका थिए । त्यसैगरी नेपाल मजदुर किसान पार्टीका तीन जना प्रदेश सांसद तटस्थ बसेका थिए । 

बैठकमा हाम्रो नेपाली पार्टीको दुई र राप्रपाका पाँच गरी सात जना अनुपस्थित रहेका थिए । बागमती प्रदेशसभा एक सय १० सदस्यीय छ । 

प्रदेशसभाको अर्को बैठक  साउन १६ गते  बुधबारअपराह्न १ बजे बस्नेछ । 
 

प्रतिक्रिया