प्रधानमन्त्री ओलीले सचिवहरुलाइ भने : सरकारको चिन्ता नलिनुस
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सरकारको विषयमा चिन्ता नगर्न आग्रह गरेका छन् । आज सिंहदरबारमा सचिवहरुलाई निर्देशन दिदै उनले सरकार ढल्ने त के ढलपल पनि नहुने भन्दै आश्वास्त पारेका हुन । प्रधानमन्त्री ओलीले कांग्रेस र एमालेले कर्तव्यबोध गरेर सरकार बनाएको उल्लेख गरे । सरकार आफ्नो नेतृत्वमा दुई बर्ष चल्ने र दुई बर्ष पुग्नु एक साता अघि नै आफुले राजीनामा दिने पनि उनले दाबी गरे । मुलुकको गम्भीर परिस्थितिमा दुई प्रमुख दलको सहभागितामा सरकार बनेकाले यसलाई असफल हुने छुट नरहेको र छुट हुन नदिइने पनि उनले स्पष्ट पारे । अघिल्लो सरकारबाट काम हुन नसकेको र जनतामा निराशा छाएकाले दुई प्रमुख पार्टीको अगुवाईमा सरकार परिवर्तन गर्नुपरेको पनि प्रधानमन्त्री ओलीले बताए । अहिलेको सरकारले असफल हुने छुट नभएको र कुनै हालतमा असफल हुन नदिने प्रतिबद्धता उनको थियो । उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षाबमोजिम जनतालाई प्रभावकारी सेवा दिन, भोकमरी, भ्रष्टाचार र कुशासन हटाउँदै विकासको गतिलाई तिव्रता दिन योजनाबद्ध काम गर्न निर्देशन दिए । ओलीले जनताका काममा कुनै ढिलासुस्ती र डुप्लीकेसन आउने गरी काम नगर्न निर्देशन दिएका छन् । उनले मन्त्रालयमा कतिपय समितिहरू बन्ने तर ती समितिहरूले काम नगर्ने प्रवृत्तिको अन्त्य गर्न निर्देशन दिए । प्रधानमन्त्रीले सरकारी तनाखा खानेहरूले मिटिङ भत्ता नलिन निर्देशन दिँदै मितव्ययी हुनसमेत सचिवहरूलाई निर्देशन दिए ।।
प्रतिक्रिया