संघीय संसद भवन निर्माण कार्यप्रति उपप्रधानमन्त्री सिंहको असन्तुष्टि
काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले सिंहदरबारस्थित संघीय संसद भवन निर्माण कार्यप्रति असन्तुष्टि व्यक्त गरेका छन । मंगलबार भवन निर्माणको अनुगमनको क्रममा उनले थप गरिएको समयभित्र निर्माण कार्य सम्पन्न हुनेगरी निर्माण कम्पनीले काम नगरेपछि असन्तुष्टि जनाएका हुन । पछिल्लो पटक थप गरिएको समय अब नौ महिना बाँकि रहेकाले त्यसमा सम्पन्न हुनेगरी कामहरुको संख्या बढाएर कामलाई तिब्रता दिन पनि उपप्रधानमन्त्री सिंहले निर्माण कम्पनीलाई सचेत गराए । शहरी विकास मन्त्रालयले सो काम छिटो सम्पन्नका लागि कामदारको संख्या दोब्बर बनाउन पनि निर्माण कम्पनीलाई दबाब दिँदै आएको छ । तर ठेकदार कम्पनीले सो अनुसार काम नगरेको मन्त्रालयले जनाएको छ । २०७६ साल असोज १६ गते करिव ६ अर्व ३० करोड लागतमा ३ वर्षभित्र सम्पन्न गरिसक्ने सम्झौतासहित शुरु भएको सो भवन निर्माण कार्य कोभिडको कारण केही समय पछि धकेलिएको थियो । यसअघि सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सो भवन निर्माण कार्य छिटो सक्नेगरी आवश्यक सहजीकरण गर्न सरकारलाई सचेत गराएका थिए ।
प्रतिक्रिया