अर्घाखाँचीको पर्यटकीय स्थल नरपानीमा वृक्षारोपण तथा सरसफाइ
अर्घाखाँची । चिसो हावा र चिसोपानीले प्रसिद्ध अर्घाखाँचीको पर्यटकीय स्थल नरपानीमा वृक्षारोपण तथा सरसफाइ गरिएको छ । नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला कार्यसमिति अर्घाखाँचीले सन्धिखर्क ६ नरपानीमा रहेको शहीद मनोज, झपेन्द्र, सुरेन्द्र स्मृति दिवसको अवसरमा मनोज, झपेन्द्र स्मृति पार्कमा वृक्षरोपण तथा सरसफाइ गरेको हो । नरपानीमा अम्बा विरेन्द्र फुल, गोल्ड मोहर, धुपी, अमला, बोटल पाम लगायतका फुल र फलफुलका विरुवा रोपिएका हुन । चिसो हावापानी भएको नरपानीबाट धेरै हिमाल देख्न पाइने हुनाले यहाँ पर्यटक आउने गर्दछन् । यहाँ गर्मीको समयमा गर्मी छल्न भारतबाट आउने पर्यटकको सङ्ख्या बढेको सन्धिखर्क नगरपालिकाका मेयर कृष्णप्रसाद श्रेष्ठले बताए । पहाडको मनोरम दृश्यले भरिपूर्ण नरपानीलाई प्रमुख पर्यटकीय स्थलको रूपमा विकास गर्न र नरपानीमा आएका पर्यटकलाई अझ आकर्षित गर्न वृक्षरोपण तथा सरसफाइ गरिएको आयोजकले जानकारी दिएका छन । ’पिकनिक’ स्थलको रूपमा विकसित हुँदै गएको यस क्षेत्रमा कपिलवस्तु, गुल्मी, पाल्पा, रुपन्देही, दाङ, नवलपरासी, बाँके र बर्दियाबाट पनि पर्यटक पुग्ने गर्दछन ।
प्रतिक्रिया