संघीय संसद्का दुवै सदनको बैठक मंगलबार बस्दै

संघीय संसद्का दुवै सदनको बैठक मंगलबार बस्दै छ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बोलाइएको छ भने राष्ट्रिय सभा बैठक सवा १ बजे बस्नेछ । प्रतिनिधि सभाको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ ।  बैठकमा सभामुखले संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली बमोजिमको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा रहने सदस्यको नाम प्रस्ताव गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रियसभामा उत्पत्ति भएको सुरक्षित कारोबार पहिलो संशोधन विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची पनि छ ।  राष्ट्रिय सभामा अध्यक्षले संयुक्त समितिमा सदस्यहरूको नाम मनोनयन गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले  ‘तिलगंगा नेत्र विश्वविद्यालय विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची पनि छ । 
 

प्रतिक्रिया