राप्रपाका केन्द्रीय सदस्य एवं पूर्व भुमिसुधार राज्यमन्त्री रायको हत्या अभियुक्त सार्वजनिक
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य एवं पूर्व भुमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । जग्गा सम्बन्धि मतभिन्नता र आर्थिक प्रलोभनमा पारेर रायको हत्या घरमा काम गर्ने सहयोगीबाटै भएको खुलासा भएको छ । हत्याको अभियोगमा रायका कामदार राम उजैन राय र सोही गाउँका बिरेन्द्र रायलाई पक्राउ गरी प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो । घटनाको केही दिन पहिला बिरेन्द्रले राम उजैनलाई पुर्व राज्यमन्त्री रायले मेरो जग्गा ओगटेर घर बनाइ बसेकोले रायको हत्या गरे बापत दुई लाख रुपैया र व्यवसायको लागि एउटा फर्म बनाइदिन्छु भनि प्रलोभन दिएर हत्या गर्न लगाएको खुलेको प्रहरीले जनाएको छ ।
करिब एक महिना अगाडि बिरेन्द्रले राम उजैनलाई पुर्व राज्यमन्त्री रायको घर जग्गाको नक्सा झुक्याई मागी उक्त नक्साको फोटो र भिडियो समेत बनाएका थिए । गत आइतवार राती करिब साढे १२ बजेको समयमा सर्लाहीको चन्द्रनगर गाउँपालिका १ रतनपुर स्थित फार्महाउसमा उखु काट्नको लागि प्रयोग गरिने धारिलो हतियार फरसा प्रहार गरि रायको हत्या भएको थियो ।
प्रतिक्रिया