कास्कीको पोखरामा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु
कास्कीको पोखरामा आज विहान एलपी देवकोटा मेमोरियल विद्यालयको विद्यार्थी बोकेको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पोखरा २१ निवासी विद्यालयको कार्यालय सहयोगी ३३ वर्षीय आरती बिक र उनको ६ वर्षीय छोरा प्रिन्सको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको हो । गण्डकी मेडिकल अस्पतालमा पु¥याइएकी आरतीलाई चिकित्सकले बिहान पौने १० बजे मृत घोषित गरेका हुन् । यस्तै उपचारका क्रममा उनका छोरा प्रिन्सको पनि मृत भएको प्रहरीले जनाएको छ । पोखरा २१ रामदीबाट बिरौटा फर्किने क्रममा ग १ क ६२१९ नम्बरको बस सडकदेखि करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो । बसमा विद्यार्थी, चालक र सहचालक गरी ३० जना सवार थिए । घाइतेमध्ये १३ जनाको गण्डकी मेडिकल कलेज, १२ जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र ३ जनाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । अधिकांशको अनुहार, हातखुट्टा, ढाडमा चोट छ । दुर्घटनामा घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ । बस ब्रेक फेल भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएको कास्की प्रहरीले जानकारी दिएको छ । बस घुम्ती मोड्ने क्रममा सडक देखि करिब ५० मिटर तल खसेको हो । बसका चालक भने अहिले फरार रहेको प्रहरीले बताएको छ ।।
प्रतिक्रिया