नेपालका प्रिन्स दाहाल पेरिस ओलम्पिक– २०२४ को ब्याडमिन्टनमा आज विहान पराजित

नेपालका प्रिन्स दाहाल पेरिस ओलम्पिक– २०२४ को ब्याडमिन्टनमा आज विहान पराजित भएका छन् । फ्रान्सको पेरिसस्थित ला चापेला एरिनाको कोर्ट नं. ३ मा भएको समूह ‘पी’ को आफ्नो पहिलो खेलमा विश्व वरीयताको शीर्ष २ स्थानमा रहेका डेनमार्क भिक्टर एक्सेल्सेनले विश्व वरीयतामा १ सय ७२ औं स्थानमा रहेका प्रिन्सलाई २–० को सोझो सेटमा पराजित गरेका हुन । कठिन समूहमा रहेका प्रिन्सलाई भिक्टरले २१–८ र २१–६ को सोझो सेटमा हराए । प्रिन्सको समूहमा उनी र भिक्टरसहित ४ खेलाडी छन् । प्रिन्सले जुलाइ २९ तारिखमा आयरल्यान्डका हात गुयेन तथा जुलाइ ३१ मा इजरायलका मिसा जिल्बरम्यानसँग खेल्ने छन् । शनिबार राति भएको खेलमा टेवल टेनिसका स्यान्टु श्रेष्ठपनि पराजित भएका थिए ।  पेरिस ओलम्पिक २०२४ अन्तर्गत आज  नेपालका खेलाडीले दुई खेलमा आफ्नो चुनौती प्रस्तुती गर्नेछन् । नेपालकी सुस्मिता नेपालले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन् । उनको खेल फ्रान्सेली समयअनुसार बिहानको सवा ९ बजे हुने छ ।  आजै हुने अर्को खेलमा पौडीमा डुवाना लामाले हिट चरणमा प्रतिस्पर्धा गर्नेछिन् । डुवानाको खेल फ्रान्सेली समय अनुसार दिउँसो १२ः५ मा रहेको छ ।   पेरिस ओलम्पिकको ३३ औँ संस्करणमा नेपालबाट ३ पुरुष र ४ महिला खेलाडी गरि ६ खेलका ७ खेलाडी सहभागी छन् ।। 

प्रतिक्रिया