जम्मु कश्मीरमा ५ महिनादेखि बन्धक बनाइएका २८ जना नेपालीहरूको उद्धार

भारतको जम्मु कश्मीरस्थित श्रीनगरमा ५ महिनादेखि बन्धक बनाइएका २८ जना नेपालीहरूको उद्धार गरिएको छ । सिरहाका २१ र धनुषाका ७ जना पुरुष मजदुरको भारतबाट उद्धार गरी शुक्रबार नेपाल ल्याइएको हो । उनीहरु २४ देखि ६० वर्ष उमेर समूहका रहेका छन् । आफन्त र पीडित मजदुरको सूचनाका आधारमा भारतस्थित नेपाली राजदूतावास र भारतीय गैर सरकारी संस्था किन इन्डियाको समन्वयमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बिना ज्याला जोखिमयुक्त तरिकाले द्वन्द्वग्रस्त क्षेत्रमा जबरजस्ती काममा लगाई बन्धक बनाइराखेका मजदुरलाई कश्मीरबाट उद्धार गरी नेपाल ल्याएको हो ।

सडक निर्माणको काम लगाउने र आकर्षक पारिश्रमिक दिने आश्वासन दिएर कश्मीर पु¥याएर उनीहरुलाई बन्धक बनाइएको थियो । उनीहरूलाई कसरी र कसले पठाएको भन्ने विषयमा अनुसन्धान हुने जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ ।उद्धार गरिएकालाई शुक्रबार नै दुवै जिल्लाका मानव बेचबिखन नियन्त्रण समितिमार्फत परिवारको जिम्मा लगाइएको छ । बिचौलिया मार्फत रोजगारीका लागि भनेर भारत पुगेका उनीहरू पाँच महिनादेखि परिवारसँगको सम्पर्कमा थिएनन् ।।
 

प्रतिक्रिया