गत आर्थिक वर्षमा २ खर्ब ७१ अर्ब २६ करोड रुपैयाँको लगानी स्वीकृत

लगानी बोर्डले गत आर्थिक वर्षमा २ खर्ब ७१ अर्ब २६ करोड रुपैयाँको लगानी स्वीकृत गरेको छ । आर्थिक वर्ष २०८०–८१ मा बोर्डले ९ वटा परियोजनाका लागि २ खर्ब ७१ अर्ब रुपैयाँभन्दा बढीको लगानी स्वीकृत गरेको हो । बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले बिहीबार बोर्डका अध्यक्ष प्रधानमन्त्री केपी ओलीसमक्ष पेश गरेको गत आर्थिक वर्षको कार्यसम्पादन प्रतिवेदनमा प्रभावकारी समन्वय र सहजीकरणको परिणामस्वरूप उल्लेख्य लगानी भित्र्याउने गरी लगानी स्वीकृत गरिएको उल्लेख गरिएको छ । माथिल्लो मस्र्याङ्दी–२ जलविद्युत परियोजना, सौर्य ऊर्जा परियोजना र दमक क्लीन इन्डस्ट्रियल पार्कको सम्बन्धमा भने परियोजना विकास सम्झौताको मस्यौदा तयार गरी विकासकर्तासँग वार्ताको चरणमा रहेको बोर्डको भनाइ छ । साथै, रासायनिक मल कारखानाको विस्तृत सम्भाव्यता अध्ययन गर्न डियाग इन्डस्ट्रिज जर्मनीसँग समझदारी भएकोमा उक्त कम्पनीबाट प्रारम्भिक अध्ययन प्रतिवेदन प्राप्त भैसकेको बोर्डले जनाएको छ । यसका साथै वीरेठाँटी–मुक्तिनाथ केबलकार परियोजनाको विस्तृत परियोजना प्रतिवेदन मूल्यांकन भइरहेको जनाइएको छ ।

प्रतिक्रिया